दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

महोत्तरी कारागारका अधिकांश कैदी चर्म रोगबाट पीडित

महोत्तरी । नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्म रोगबाट पीडित छन् । 

कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरूमा चर्म रोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो ।

कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कुचुल्किएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहर बढेपछि चर्म रोगको समस्या बढेको कैदी–थुनुवा बताउँछन् । “राम्ररी कोल्टे फेर्न पनि ठाउँ छैन, कोचाकोच भएर बस्नुपरेको  छ”, जिउभरि खटिरा देखाउँदै थुनुवाले भने, “कारागारमा मान्छे थपिएको थपियै छन्, नियमित सरसफाइ छैन ।”

एक सय ३५ कैदी–थुनुवा राख्न मिल्ने क्षमताको कारागारमा अहिले १९४ कैदी र ३७६ थुनुवा छन् । पुरुष र महिलाको छुट्टाछुट्टै कक्ष छ । पुरुष कक्षमा १७९ कैदी र ३४६ थुनुवा छन् । महिला कक्षमा १५ कैदी र ३२ थुनुवा रहेका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । महिला कक्षमा आमाका साथमा रहेका पाँच वर्षमुनिका ६ बालक र तीन बालिका छन् । दिनहुँ बढ्ने कैदी–थुनुवाको चापले सबैको ठिक समयमा स्वास्थ्य जाँच, नियमित उपचार र आवश्यक स्याहार गर्न नसकिएको क्षेत्री स्वीकार गर्नुहुन्छ ।

“हामी स्वास्थ्य समस्याबारे संवेदनशील नभएको होइन”, उहाँ भन्नुहुन्छ, “कारागारमा पर्याप्त जनशक्ति छैन ।” यससँगै नियमित सरसफाइको पाटो पनि चर्म रोग बढ्नुको मुख्य कारण रहेको क्षेत्रीले बताउनुभयो । भित्रको सरसफाइमा कैदी–थुनुवाले पनि ध्यान दिन नसकेको उहाँको भनाइ छ ।

कारागारमा श्वासप्रश्वास, मधुमेह, रक्तचाप र पेटसम्बन्धी समस्याका बिरामी पनि छन् । छाला चिलाउने समस्या अधिकांश कैदी–थुनुवामा देखिएको छ ।

छालासम्बन्धी उपचार शिविर सञ्चालन गर्न कैदी–थुनुवाले माग गरेका छन् । न्यायिक निकायबाट मुद्दा छिनोफानो समयमै नहुँदा कैदी–थुनुवाको सङ्ख्या बढ्दै गएको छ ।

विसं १९१३ मा निर्माण गरिएको कारागार भवन जीर्ण बनेको छ । रासस 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : ४२ बजे