दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

निर्वाचन आयोगका पदाधिकारीसहित १ लाख १० हजार जनाको दुर्घटना बिमा गरिँदै

काठमाडौ‌ँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामूहिक दुर्घटना बिमा गर्ने भएको छ । 

निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिने गरी १ लाख १० हजार ७१३ जनाको सामूहिक दुर्घटना बिमा गरिन लागिएको हो । 

सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ । आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ । बिमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा कम्पनीमार्फत बिमा गर्नेछ । ५० प्रतिशतभन्दा बढी स्वदेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।

क–कसको हुँदै छ बिमा ?
​​​​​​​आयोगका अनुसार ९ सय जनाको १०४ दिनको बिमा हुँदै छ ।  जसमा निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी (काज, स्थायी र करारसमेत) पर्छन् ।

त्यस्तै,  ६ हजार ७ सय ७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको बिमा हुनेछ । उनीहरूको बिमा भने ७० दिनको मात्र हुनेछ ।

९४ हजार कर्मचारीको १५ दिने बिमा हुनेछ । जसमा मतदान केन्द्रमा खटिने कर्मचारी पर्छन् । मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बिमा हुनेछ । 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ३१ बजे