दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जुम्लाका किसान स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्दै

खलङ्गा। जुम्लाका किसानलाई यो याममा स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न चटारो छ ।

चन्दननाथ नगरपालिका–८ का स्याउ किसान हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा छिमेकी जिल्ला हुम्ला पठाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्याउका बिरुवा ट्रकमा नेपालगञ्ज पठाइसकँे । नेपालगञ्जदेखि जहाजमा हुम्ला लैजाने तयारी भइरहेको छ । हुम्लाका स्थानीय तहको मागअनुसार स्याउका बिरुवा पठाइएको किसान रोकायाले जानकारी दिनुभयो । 

उहाँले बाजुराको बूढीनन्दा गाउँपालिकामा १३ हजार ५०० बिरुवा पठाउनुभयो । अहिलेसम्म रोकायको नर्सरीमा रहेको ५० हजार बिरुवामा झन्डै २५ हजार बिरुवा निर्यात भइसकेको छ । स्याउको नर्सरी बनाएर बिरुवा हुर्काउन सके पनि  पैसाको अभाव हुँदैन ।

स्याउ नर्सरी आयआर्जनको राम्रो माध्यम बन्दै आएको छ । सरकारी दरअनुसार स्याउ नर्सरी धनीले एक बिरुवाको रु ७७ मा बेच्नुपर्छ  तर नर्सरी धनीले ग्राहकअनुसार केही कम मूल्यमा पनि बिरुवा बेचेको पाइएको छ  । गुणस्तरीय स्याउका बिरुवाको माग जिल्लाबाहिर अत्यधिक छ । 

जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपरजोन कार्यालयले पनि स्याउका बिरुवा किसानलाई उपलब्ध गराउँदै आएको छ । त्यो बिरुवा पनि हामीहरुबाटै जाने गरेको स्याउ किसान रोकायाले बताउनुभयो । वर्षमा झन्डै रु तीन लाखको बिरुवा बिक्री हुने गरेको छ । निरोगी बिरुवा हुर्काउन सकियो भने खासमा यहाँका स्याउ किसानलाई आर्थिक अभाव हुनेछैन । 

गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिनुपर्छ । यसका लागि पटक–पटक कृषि प्राविधिकको परामर्श लिनु आवश्यक पर्छ । स्याउका बिरुवा पर्याप्त लगाउने हो भने पैसा कमाउन विदेश जानु पर्दैन ।

सामाजिक सङ्घसंस्था र स्थानीय तहले विदेशी जातको स्याउ ल्याउन थालेकाले स्थानीय जातको स्याउ लोप हुने हो कि भन्ने चिन्ता यहाँका स्याउ किसानले बताए । रोेकायाले आधिकारिकरुपमा सिर्जनशील स्याउ नर्सरी फार्म खोली व्यावसायिक रुपमा स्याउका बिरुवा उत्पादन तथा बिक्री वितरण गर्दै आउनुभएको हो ।  

पछिल्लो समयमा अन्य स्थानीयवासीले पनि नर्सरी दर्ता गरी सञ्चालनमा  ल्याएका छन् । उक्त कार्यालयका अनुसार स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न स्याउ किसान यो याममा लागिपरेका छन् ।   जुम्ली स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछाम, अर्घाखाँची, हुम्ला, कालीकोट, मुगु र जाजरकोटसम्म  निर्यात हुने गरेको कार्यालयका बागवानी शाखा प्रमुख सुष्मा बुढाले बताउनुभयो ।

 यहाँ उत्पादित स्याउका बिरुवा बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भनेर कार्यालयबाट सिफारिस दिने गरिएको उहाँको भनाइ थियो । जिल्लाबाट हालसम्म ४९ हजार स्याउ र ओखरका बिरुवा बाहिरी जिल्लामा निर्यात भएको छ । अहिले नर्सरीमा रेड, रोयल डेलिसियस, गोल्डेन र जनाथन जातका स्याउका बिरुवा छन् । 

जुम्लामा १५५ स्याउ नर्सरी दर्ता भएका उक्त कार्यालयले जनाएको छ । स्याउ सुपरजोन परियोजना जिल्लामा लागू भएपछि आफूहरुलाई प्राविधिक ज्ञानदेखि स्याउका बिरुवा काटछाँटमा निकै राहत पुगेको यहाँका स्याउ किसानले बताए । रासस

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  २ : ५१ बजे