‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रको विकास र समृद्धिका लागि खेल आवश्यक : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले व्यक्तिको अनुशासनसँगै राष्ट्रको विकास र समृद्धिका लागि खेल आवश्यक रहेको बताउनुभएको छ  । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रथम राष्ट्रिय महाधिवेशनमा काठमाडौँमा उद्घाटन गर्नुहुँदै अस्थिर राजनीतिका कारण देशले खेलकुदको भरपुर विकास गर्न नसकेको भन्दै उहाँले त्यसको परिपूर्ति मदन भण्डारी स्पोट्स एकेडेमीले गर्न सक्ने जनाउनुभयो । 

७ वटै प्रदेशमा स्पोर्टस एकेडेमी स्थापनादेखि खेलकुद पूर्वाधार विकासमा एमाले सरकारले महत्त्वपूर्ण भूमिका खेले पनि स्थायी सरकार नहुँदा त्यसलाई संस्थागत गर्न नसकिएको उहाँले बताउनुभयो । 

​​​​​​​

महाधिवेशनले ध्रुव आचार्यको अध्यक्षतामा २ सय २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।  

आचार्य यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । समितिको ८ सदस्यीय उपाध्यक्षमा राजेश बज्राचार्य, जितेन्द्र श्रेष्ठ, महेन्द्र राई, राजेश गुरुङ, तेज विक्रम बस्नेत, तुल्सी मैनाली, शशीकुमार बर्मा र देवबहादुर कुँवर चयन हुनुभएको छ । महासचिव पुरेन्द्र विक्रम लाखें एवं उपमहासचिवमा मदन उप्रेती र सुवर्णा श्रेष्ठ छनोट हुनुभएको छ ।

त्यस्तै, सचिवमा मिलन राना, देवी वाग्ले, चन्द्र वन्दना राई, डा. शक्ति बस्नेत, सुजु मल्ल, मन्दिरा बस्नेत, अञ्जना शिवाकोटी, सन्जु महर्जन र ऋषिकेश श्रेष्ठ चयन हुनुभएको छ  । 

निर्वाचनका लागि एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवालको अध्यक्षतामा दीपक ज्ञवाली र बलबहादुर आचार्य सदस्य रहेको अध्यक्ष मण्डल गठन भएको थियो । 

महाधिवेशनको पूर्व प्रधानमन्त्री तथा एकेडेमीका संरक्षक केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम थियो ।  एमसीसी विरुद्ध उत्रेकाको अवरोधका कारण उहाँ कार्यक्रममा सहभागी हुन सक्नुभएन । 

नव निर्वाचित अध्यक्ष आचार्यले एकेडेमीको प्रदेश, जिल्ला हुँदै ७ सय ५३ वटै स्थानीय तहमा कमिटी गठन गर्ने योजना बनाएको बताउनुभयो । पालिका स्तरदेखि नयाँ खेलाडी उत्पादन गर्ने, खेलकुदमा लागेकालाई प्रशिक्षित गरेर सबल बनाउने र सबललाई व्यावसायिक बनाउन भूमिका खेल्ने उहाँले जनाउनुभयो । एकेडेमीले आउँदो खेलकुद दिवसको अवसरमा बृहत् राष्ट्रिय खेलकुद कार्यक्रम गर्ने समेत उहाँले सुनाउनुभयो  । 

मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवालले खेलकुदलाई खेलाडी मात्रका लागि नभइए आम नागरिकको स्वास्थ्य , मनोरञ्जन र विकाससँग जोड्न आग्रह गर्नुभयो । सबैका लागि खेल आवश्यक रहेको बताउँदै उहाँले स्थानीय स्रोत साधनको प्रयोग गरेर खेलकुदको विकासमा युवा जोस र जागर लगाउनुपर्ने बताउनुभयो ।

मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले खेलकुदको विकाससँगै जनताको बहुदलीय जनवादलाई नागरिक माझ पुर्‍याउन स्पोर्टस एकेडेमीले ठुलो भूमिका खेलेको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमणका कारण सुस्ताएका खेल गतिविधि पुन अगाडि बढाउन एकेडेमीलाई थप सक्रिय हुन आग्रह गर्नुभयो । 

मदन भण्डारी बौद्धिक मञ्चका अध्यक्ष कुलबहादुर आचार्यले स्पोर्टस एकेडेमीले खेल गतिविधिसँगै र जनताको बहुदलीय जनवादलाई फैलाउन काम गर्नुपर्ने बताउनुभयो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले युवा जोस र जागरलाई खेलकुदमा लगाउन सके अनुशासित युवा उत्पादन हुने र देशमा समृद्धि हुने बताउनुभयो । 

उपाध्यक्ष पौडेलसहित विभिन्न व्यक्ति सम्मानित 
एकेडेमीले खेलकुदको संरक्षण र विकासमा भूमिका खेलेको भन्दै विभिन्न खेलाडी तथा खेल संरक्षकहरूलाई सम्मान गरेको छ । 

खेलकुदको विकास र संरक्षणमा सहयोग गरेको भन्दै एमाले उपाध्यक्ष पौडेल, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष भण्डारी, मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष सिलवाल र निवर्तमान अध्यक्ष विनोद श्रेष्ठ, संस्थापक महासचिव तथा कराते खेलाडी पुरेन्द्रविक्रम लाखे, अर्का खेलाडी तथा प्रशिक्षक राजन पाइजा लगायतलाई सो अवसरमा एकेडेमीले सम्मान गरेको थियो । 

 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ५४ बजे