माधव नेपालले एमसीसी टेबल गर्ने निर्णय गरेर जनतामाथि घात गरे : झलनाथ खनाल

काठमाडौं –  नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको छ ।

नेता झलनाथ खनालले पार्टीको निर्णय विपरीत आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने गठबन्धनका  शीर्ष नेताहरूको निर्णयप्रति आपत्ति जनाउँदै पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको हो ।

नेता खनालले संसद्मा एमसिसी टेबल गर्ने कार्य राष्ट्रघाती कदम भएको बताउनुभएको छ। एमसीसी संसद्मा टेबल गर्ने शीर्ष नेताहरूको सहमति पछि प्रतिक्रिया दिँदै खनालले भन्नुभयो  ‘कहाँ टेबल गर्छन् , उनीहरूको भान्छा घरमा? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’

खनालले  यथास्थितिमा एमसिसी संसद्मा टेबल गर्न नहुने बताउँदै त्यस्तो खालको सहमतिलाई आफूले स्वीकार नगर्ने बताउनुभयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १२ : २७ बजे