‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पुरातात्त्विक स्मारकको रूपमा रहेको टङ्कप्रसाद आचार्यको जन्म घरको जीर्णोद्धार हुन सकेन

नवलपरासी ।  जिल्लाको रामग्राम नगरपालिका—३ स्थित टङ्कप्रसाद आचार्य जन्मेको घर अहिले पनि जीर्ण अवस्थामा भए पनि सरोकारवालाबाट संरक्षण तथा जीर्णोद्धार हुन सकेको छैन । 

रामग्राम नगरपालिकाको बेवास्ताले अहिले सो भवन जीर्णोद्धार हुन नसकेको हो । प्राचीन स्मारकको जीर्णोद्धार गर्नका लागि लुम्बिनी प्रदेश सरकारले बजेट पठाउँदा पनि काम नभएकोमा प्रदेश सांसद बैजनाथ चौधरीले नगरपालिकाको कार्यशैली पूर्वाग्रही भएको बताउनुभएको छ । 

प्रजातन्त्रान्त्रिक आन्दोलनका अभियन्ता स्वर्गीय टङ्कप्रसाद आचार्य जन्मेको घरलाई पुरातात्त्विक स्मारकको रूपमा संरक्षण गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरे पनि रामग्राम नगरपालिकाले सो रकम खर्च नगरी फ्रिज गराएकोमा प्रदेश सांसद तथा पूर्व मन्त्री चौधरीले ध्यानाकर्षण गराउनुभएको हो  । 

आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेश सरकारको तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले सो स्मारक जीर्णोद्धारका लागि सशर्त अनुदान भनेर रामग्राम नगरपालिकालाई रु.५० लाख रकम उपलब्ध गराएको तर नगरपालिकाले काम नगरी सो रकम फ्रिज गराएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । 

प्रजातन्त्र दिवसको अवसरमा टङ्कप्रसाद आचार्य प्रतिष्ठानको नाममा रहेको सो स्मारकको अवलोकन गर्न पुग्नुभएका सांसद चौधरीले प्रजातन्त्र स्थापनामा स्वर्गीय आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । 

आचार्यको जन्मेको घरलाई स्मारकको रूपमा अहिले पनि परासी मालपोत कार्यालय परिसरमा जीर्ण अवस्थामा रहेको छ । रामग्राम नगरपालिकाभित्रै रहेको उक्त स्मारकलाई सम्पदाको रूपमा संरक्षण नगरपालिका आफैले गर्नु पर्नेमा प्रदेश सरकारले बजेट पठाउँदा पनि खर्च नगरी निकम्मापन देखाएको सांसद चौधरीको भनाइ थियो । 

वि.सं.१९६९ सालमा निर्मित परासीस्थित भवन अहिले पनि उस्तै अवस्थामा रहेको छ । “सय वर्ष पुरानो कुनै पनि संरचना पुरातात्त्विक महत्त्वको हुन्छ”, उहाँले भन्नुभयो ।

यो टङ्कप्रसाद आचार्य जन्मेको घर शताब्दीभन्दा बढी भइसकेको त्यसमा पनि प्रजातन्त्रका अभियन्ता समेत रहनुभएका आचार्य ऐतिहासिक व्यक्तित्व भएकोले उहाँले बताउनुभयो । 

प्रजातन्त्र स्थापनाका लागि राणा राजाविरुद्ध आन्दोलनमा रहनुभएका आचार्यलाई सम्झनुपर्ने दिन पनि फागुन ७ गते हो । 

आचार्य राणा र अन्य नागरिकबीच हुने गरेको विभेदको विरोधी हुनुहुन्थ्यो । उहाँका बुवा राणा सरकारकै काम गर्ने भए पनि उहाँले राणाको कार्यप्रति विरोध गर्नुभएको थियो । प्रजातन्त्रका अन्य क्रान्तिकारी युवाहरू गङ्गालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीलाई मृत्यु दण्ड दिइयो भने ‘बाहुन मारियो भने पाप हुने’ त्रासले राणाहरूले उहाँको हत्या भने गरेका थिएनन् । 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : ०१ बजे