बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

बैतडी । डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ  ।  

गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो ।  

मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको छ ।” धनगढीबाट १३ यात्रु लिएर आएको र यहाँबाट १८ यात्रु लगेर जहाज गएको भट्टको भनाइ छ ।   

साताको एक दिन शुक्रवार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ । गएको डेढ महिनामा तराईमा हुस्सु र  पहाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो । मौसम सफा हुँदै गएकोले अबदेखि साताको एक दिन शुक्रवार नियमित उडान हुने जनाइएको छ ।  

गत वर्ष पनि एक महिना खराब मौसमका कारण हवाई सेवा बन्द भएको थियो ।  

पाटन विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको  थियो ।  

विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १० : ३१ बजे