सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

मुलुकलाई समृद्ध बनाउने दिशामा एमाले लागि रहेको छ : अध्यक्ष ओली

​​​​​​​काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना दिनुहुँदै अध्यक्ष ओलीले संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा एमालेलाई सरकारबाट बाहिर पुर्‍याइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने एमालेको अभियानलाई अझ सबल रूपमा अगाडि बढाइने बताउनुभयो  । 

उहाँले नेपाली जनताको एकताबद्ध सङ्घर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन (२००७ साल फागुन ७ गतेलाई) स्मरण गर्नुहुँदै आजकै दिनलाई नेपालको इतिहासमा नेपालीले उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रूपमा स्थापित गरेको बताउनुभयो । 

“जनताको बलिदानद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । 

उहाँले प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण सङ्घर्षमा आफूलाई समर्पित गर्नुहुने अमर शहीदहरू शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

अध्यक्ष ओलीले समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको बताउनुहुँदै लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रूपमा हामी आजको दिनलाई स्मरण गर्दछौँ भन्नुभयो ।

संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आम निर्वाचनबाट बनेको नेकपा (एमाले)को सरकारले मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो भन्नुहुँदै उहाँले एमाले नेतृत्वको सरकाले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाएको बताउनुभयो ।

उहाँले जनताको सङ्घर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा एमाले लागि रहेको बताउनुभयो । 

अध्यक्ष ओलीले संविधानसभामार्फत् जनताको संविधान निर्माण गरी तदनुरूपका संरचनालाई बलियो बनाउँदै एमाले नेतृत्वको सरकारले सुशासन र विकासको दिशामा अघि बढाएको बताउनुभयो । 

“हामीले प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएका थियौँ ।”, उहाँले सन्देशमा भन्नुभएको छ । 

अध्यक्ष ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा आह्वान समेत गर्नुभएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ०३ बजे