धोकेबाज प्रचण्ड र निलो रङ्गको त्यो स्याल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहोरो बोली, चरित्र र रूपले नेपालको राजनीति फेरि सङ्कटग्रस्त हुँदै छ । आफू कमजोर भएका बेला बृहत् कम्युनिष्ट एकताको कुरा गरेर नथाक्ने यी प्रचण्डले त्यही एक भएको कम्युनिष्ट पार्टीलाई क्षणभरमै तीन टुक्रा पारेका विगत लामो छैन ।

कुनै समय संसद्लाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ भन्ने प्रचण्ड १७ हजारको जीवन लीला समाप्त पारेपछि त्यही संसद्को मसिहा हुँ भनेर निस्किएको जगजाहेर नै छन् । कुनै समय अमेरिकी र भारतलाई साम्राज्यवाद र बिस्तारवाद भनेर सराप्ने यी नै प्रचण्ड जनयुद्ध भर भारतमै सुरक्षित बसेका थिए । अमेरिकालाई साम्राज्यवाद भनेर नथाक्ने यिनै प्रचण्डले केही समय अघि एमसीसीका विषयमा विन्तीपत्र हालेर आफ्नो चपाउने र देखाउने दाँत प्रस्ट पारेका थिए ।

राजनीतिमा छेपारे, दोधारे र धोकेबाज चरित्रको पर्याय बनिरहेका यी मनुवा हिजो जनयुद्धमा शक्ति सञ्चयका लागि पटक पटक वार्ताको नाटक गर्दै फेरि युद्ध गर्ने गर्दथे । नेपालमा अहिले जल्दो बल्दो विषय बनेको छ एमसीसी । प्रचण्डले अमेरिकी सरकारलाई पठाएको पत्र सार्वजनिक भएसँगै उनको दोहोरो बोली र चरित्र छरपस्ट भइसकेको छ । जनता र कार्यकर्ताको अगाडी भने यी आफूलाई एमसीसीको कट्टर विरोधीको रूपमा प्रस्तुत गरिरहेका छन् । भित्रभित्रै अमेरिकालाई रिझाउन प्रधानमन्त्री शेरबहादुर देउवाको आडमा बिन्ती पत्र हालेर हारगुहार गर्ने यिनै प्रचण्ड अहिले सडकमा एमसीसी विरोधी माहौल बनाएर आफ्नो उही पुरानो दोधारे चरित्र देखाइरहेका छन् । एमसीसीलाई जस्ताको तस्तै पास गर्न सघाउने प्रतिबद्धता व्यक्त गरेका यी प्रचण्ड यत्तिखेर सत्ताको स्वाद मात्र लिइरहेका छैनन् त्यही एमसीसीका नाउँमा सडकमा कार्यकर्ता उतारेर आफ्नो समाप्त हुन लागेको राजनीति जोगाउने दौडमा छन् ।

प्रचण्ड आफू सत्तामा टिकी रहन नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्र सम्मिलित भएको गठबन्धन बनाएका थिए । प्रचण्डले गठबन्धन बनाउनुको मुख्य उद्देश्य ५ वर्षे स्थिर सरकारलाई ढालेर अस्थिरता सृजना गरी धमिलो पानीमा माछा मार्ने नियति रहेको प्रस्टै छ । मुलुकलाई अस्थिर राजनीतिमा होमेका यिनै प्रचण्ड अहिले फेरी एमसीसीका विरुद्ध सडकमा कार्यकर्ता उचालेर राजनीतिक बार्गेनिङमा छन् । प्रचण्डको यही छेपारे प्रवृत्तिकै कारण अहिले गठबन्धन कोल्याप्स हुने अवस्थामा पुगेको छ । एमसीसीलाई पत्र लेखेर जस्ताको तस्तै पास गर्छु भनेका यी नै प्रचण्डले आफ्नो इशारामा चलिरहेका सभामुखलाई बचाउन सर्वोच्च अदालतमा रहेका प्रधानन्यायाधीश महाअभियोग लगाउन काग्रेंसलाई तयार गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई हटाएर अदालतबाट आफू अनुकूल निर्णय गराउनका लागि उनले नेपाली काग्रेंससँग एमसीसी पास गराउन सघाउने बचन दिएको स्वयम काग्रेंसका नेताहरूले खुलाइसकेका छन् । चार दिन अघिसम्म चोलेन्द्रलाई महाअभियोग लगाउन एमसीसी पास गर्ने बचन दिएका प्रचण्ड पुनः चार दिनपछि आफ्नो काम गराएपछि एमसीसी विरोधी बनेर निस्किए । प्रचण्डको यही कदमले अहिले न्यायालय थिलथिलो बनिरहेको छ । प्रचण्डले फेरेको यही बेलाबेलाको बोलीले अहिले प्रधानमन्त्री देउवालाई एमसीसी टाउको दुखाइको विषय मात्र बनिरहेको छैन छदाखाँदाको सरकार समेत कोमामा पुग्दै छ ।

यिनै प्रचण्डको इशारामा सभामुखले एमालेले कारबाही गरेका १४ जना सांसदको कारबाही नगर्दा अहिले संसदपनि चल्न नसक्ने अवस्थामा छ । सदन, सडक, न्यायालय र सरकारलाई थङथिलो बनाइसकेका यी मनुवा हाम्रो बचेखुचेको कूटनीतिक सम्बन्धलाइ ध्वंस गर्न लागिपरेका छन् । प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्र अहिले सत्तामा छ । सत्तामा बस्ने र सडकमा आन्दोलन गर्ने प्रचण्डको दोहोरो चरित्र कुनै नौलो भने होइन । प्रचण्डको आदेश अनुरूप नै माओवादी केन्द्रको भातृ सङ्गठन वाईसीएल र अखिल क्रान्तिकारी अहिले काठमाडौँमा ढुंगामुडा र टायर बाल्ने कार्यमा तल्लीन छ । प्रचण्ड त्यहीँ ढुंगामुडा र टायर बालेको तस्बिर देखाएर गठबन्धनको बैठकमा बार्गेनिङ गरिरहेका छन् । एकातिर आफूलाई एमसीसीको विरोधी देखाउन वाईसीएल र अखिल क्रान्तिकारीको प्रयोग गरेर सडक तताउने र एमसीसी विरोधी जनमत आफ्नो पक्षमा पार्ने र यता गठबन्धन छोड्ने धम्की दिएर आफ्नो अनुकूलका निर्णय गराएर स्थानीय निर्वाचन धकेल्ने दाउमा प्रचण्ड लागिरहेका छन् ।

प्रचण्ड स्वभाव बुझ्न धेरै पर पुग्नु पर्दैन । जनयुद्धको समयमा लुकेर बसेका प्रचण्डले धीरेन्द्र मार्फत आफूहरू राजसंस्था मान्न तयार भएको भन्दै राजालाई धोखा दिएका थिए । तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई समेत राष्ट्रपति बनाउँछु भन्दै धोखा दिए र आफू भित्ते राष्ट्रपति बन्न पुगेका थिए । तत्कालीन नेकपा माओवादीका दोस्रो वरियतामा रहेका नेता डा. बाबुराम भट्टराईलाई पनि उनले पार्टी अध्यक्ष बनाउँछु भन्दै अन्ततः धोका दिएर अझ सम्म एकलौटी रूपमा अध्यक्ष बनेर बसिरहेका छन् । प्रचण्डले इतिहासकै बलियो झन्डै दुइतिहाई बहुमत रहेको कम्युनिष्ट सरकारलाई समेत पाँच वर्ष आफू प्रधानमन्त्रीमा दाबी नगर्ने भन्दाभन्दै तीन वर्ष नबित्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालेर धोका दिएका थिए । आफ्ना कार्यकर्ताहरूलाई त उनले कहिले समाजवादको सपना देखाए कहिले तक्मा लगाएर जिन्दगीभर सेवा सुविधा लिन पाइने कथा सुनाएर मर्न र मार्न बाध्य पारे । प्रचण्डको बोली र व्यवहारलाई राम्ररी नबुझी आफ्नो ज्यानको आहुति दिने माओवादी लडाकुहरूले समेत अहिले आएर आफूहरूलाई प्रचण्डले धोका दिएको राम्ररी बुझिसकेका छन् । जनवादी व्यवस्था ल्याउँछु भनेर लडाकुहरूलाई अर्बौँमा बेचेका प्रचण्डले अहिले आफ्नो सात पुस्तालाई पुग्ने गरी सम्पत्ति आर्जन गरिसकेका छन् ।

प्रचण्डलाई अझैसम्म नबुझ्ने र नचिन्ने नेता तथा कार्यकर्ताले भविष्यमा एक पटक प्रचण्डसँग धोका खान तयारी गरेर बस्दा ठिक हुन्छ होला । प्रचण्डको चरित्र संस्कृत नीति कथा ‘नीलवर्णस्य शृगाल’ (निलो रङ्गको स्याल)सँग ठ्याक्कै मिल्छ । बङ्गालमा ‘जङ्गलको राजा’ भन्ने एउटा कहानी छ स्यालको बारेमा । जो वनको राजा बनेको थियो। स्यालहरू उनीहरूको चलाखीका लागि चिनिन्छन्। एक दिन यो स्याल गाउँमा आइपुग्यो र निलो रङ्गको डब्बामा खस्यो। ऊ वन तिर भाग्यो।तर ऊ निलो भएको थियो। सबै जनावरहरूले भने, ‘यो के हो ? यो के हो ? यो जनावर को हो ? सिंह पनि अचम्मित भएस् ‘हामीले पहिले तपाईँलाई कहिले देखेका थिएनौँ सर। त्यसो भए तिमी को हौ ?’ स्यालले जवाफ दिए, ‘मलाई भगवानले पठाएको हो।’ तिनीहरूले उसलाई परमेश्वरको रूपमा पूजा गर्न सुरु गरे। तर एक रात केही अन्य स्यालहरू कराउन थाले र स्यालहरू अरू कराएको सुन्दा आँफु नकराई बस्न नसक्ने हुनाले, यो निलो स्याल पनि चिच्याउन लाग्यो र उनले अरू सबै जनावरहरूको अगाडि आफूलाई आफैँ उजागर गरे की उनी एउटा स्याल भन्दा बढी केही रहेनछन् । नेपाली राजनीतिको ‘चतुर निलो स्याल’ एक पटक फेरि रङ्ग बदलेर आएको छ । समय क्रममा स्याँलको वास्तविक स्वर आउने नै भएपनि अब भने ‘निलो स्याँललाई चिन्न ढिला गर्नु हुन्न । अस्तु ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ४० बजे