दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रत्ननगर महोत्सव फागुन १५ गतेदेखि सञ्चालन हुने 

चितवन । कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । 

गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो ।

उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सव फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको हो । 

महोत्सवमा हुने चौथो चिकेन एण्ड एग फुड फेस्टिबल फागुन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो । फुड फेस्टिवल सौराहा चोकमा हुने छ । 

महोत्सव उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोरोना महामारीका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएसँगै उद्घाटनको अघिल्लो दिन महोत्सव स्थगित भएको थियो ।

महोत्सवमा सबै संरचना त्यतिबेला नै बनाइएको थियो । बिग्रे–भत्केका संरचनालाई मर्मत सम्भार गरी महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा ३५० कक्ष रहने छन् । महोत्सवमा कृषि उत्पादन र माछाको नयाँ प्रविधिलाई प्राथमिकता दिइने भएको छ । 

उद्योग वाणिज्य सङ्घ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ ।

मूल आयोजक समितिका संयोजक एवं सङ्घका अध्यक्ष श्रेष्ठले स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउ बिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने जानकारी दिनुभयो । 

महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक छलफल गरिने उहाँले बताउनुभयो ।

महोत्सवमा माछा पालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनी साथै माछा पालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई प्राथमिकतामा राखिएको छ । उहाँले भन्नुभयो, “माछा पालन व्यवसायको  प्रवर्द्धनका लागि महोत्सवमा माछाका भुराको प्रदर्शनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल चेतनामूलक सामग्री, श्रव्य दृश्य तथा गोष्ठी गरिने छ ।”

‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ११औँ संस्करण हो । 

विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार–व्यवसाय र अन्य आर्थिक महत्त्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ०८ बजे