सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै 

काठमाडौँ । एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज निर्णायक छलफल हुँदै छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग आज  दिउँसो ३ः०० बजे हुने छलफलबाट एमसीसी बारे छिनोफानो हुनेछ ।

बुधवार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोड बल गरिरहनुभएका प्रधानमन्त्री त्यसमा सफल हुन सक्नुभएन । गठबन्धनमा रहेका दलहरूकै असहयोगपछि प्रधानमन्त्री देउवाको एमसीसी जसरी पनि टेबल गर्ने योजना सफल हुन नसको हो  ।

गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले निर्णय गरेको छैन तर उ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि प्रधानमन्त्री देउवाले निर्णायक छलफल गर्न लाग्नुभएको हो । 

माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड बुधवार बिहान बालुवाटार पुग्नुभयो। जहाँ उहाँले पार्टीको निर्णय र आफ्नो बाध्यताबारे प्रधानमन्त्रीलाई भन्नुभएको थियो । 

आफ्नो पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग बताउनुभएको थियो । चुनाव नजिकिएको भन्दै उहाँले एक वर्षपछि सार्न प्रयास गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो । तर प्रधानमन्त्री देउवाले त्यसमा सहमति जनाउनुभएन ।

तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहनुभएका प्रधानमन्त्री देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्व स्तरबाट आउने अनुदान, सहयोग रोकिने उहाँको भनाइ थियो । एक्ला एक्लै भएको भेटबारे दुवै नेताले आफूहरू निकट नेतालाई जानकारी गराउनुभएको थियो । 

गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दलनै विरोधमा उत्रिँदा आफू समस्यामा परेको उहाँको भनाइ थियो । उहाँले पार्टीले गठबन्धनमा कुरा नमिले पनि अघि बढ्नु पर्ने दबाब दिइरहँदा सहयात्री दलको यस्तो निर्णयले समस्या पर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “यसरी अघि बढ्न समस्या हुन्छ, गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गरौँ ।”

देउवाको प्रस्तावलाई प्रचण्डले स्वीकार गर्नुभयो । गठबन्धनमा छलफल गरेर साझा बिन्दु खोजी गर्न सकिने प्रचण्डको विश्वास थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : ५२ बजे