दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर बिक्री खुल्ला  

काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । 

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो । 

कम्पनीले निष्कासन गर्ने साधारण शेयर मध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । 

जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।

निष्कासित शेयरमा सर्वसाधारणले यही फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन १८ गतेसम्म शेयर निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितो पत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ । 

कम्पनीको हाल चुक्ता पुँजी रु १७ करोड ५० लाख रहेकामा सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँडपश्चात् चुक्ता पुँजी रु २६ करोड पुग्नेछ । 

धितो पत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपि आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । 

रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ । रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ०३ बजे