काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
आजको बैठकमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना(एमसीसी) टेबल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ ।
मङ्गलवार बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी पारित गर्ने निर्णय गरेसँगै आजको संसद्मा उक्त सम्झौता टेबल हुन सक्ने बुझिएको छ तर, संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन ।
सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।
सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीकाे विराेध गरिरहे पनि दबाबमा छन् ।
त्यस्तै, सभामुख अग्नि सापकोटाले आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न बिहान साढे ११:०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने जनाएको छ ।
एमालेले आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ७ : १२ बजे
प्रतिक्रिया