आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लोकतन्त्रमाथिको निरन्तर हमला : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव लोकतन्त्रमाथिको निरन्तर हमलाको रुपमा लिनुपर्ने बताउनु भएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूको धारणा सुनेपछि दलका नेता तथा अध्यक्ष ओलीले जबराविरुद्धको महाअभियोग प्रस्ताव लोकतन्त्रमाथिको निरन्तर हमलाको रुपमा लिनुपर्ने बताउनु भएको हो । जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा औपचारिक धारणा बनाउन सोमबार बसेको दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनबाट भइरहेको लोकतन्त्रमाथिको हमलाको निरन्तरता रहेको बताउनुभयो । 

जबराविरुद्धको महाअभियोगको प्रस्ताव अदालतलाई अस्थिर बनाउन, निर्वाचन सार्न र एमसीसी पारित गर्ने तीन कारणले आएको भन्दै ओलीले यसको प्रतिवाद गर्नुपर्ने बताउनु भएको छ । 

‘आजको बैठकमा सांसदले धारणा राखेपछि अध्यक्ष ओलीले जबरामाथिको महाअभियोग लोकतन्त्रमाथिको हमलाको निरन्तरताको रुपमा रहेको बताउनु भयो,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । 

‘महाअभियोगको प्रस्ताव जुन बेला आएको छ । त्यसलाई हेर्दा तीन कारण देखिन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भन्नुभयो, ‘अदालतलाई अस्थिर बनाउने रहने, निर्वाचन सार्ने र एमसीसी पारित गर्ने तीन कारण देखिएका छन् । यसको एमालेले प्रतिवाद गर्नुपर्छ ।’ यद्यपि, प्रधानन्यायाधीश जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको धारणा नभएको प्रमुख सचेतक भट्टराईको भनाइ छ । 

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, झपट रावल, विमला विश्वकर्मासहितका सांसदले धारणा राखेको र उनीहरू महाअभियोग प्रस्ताव र एमसीसीबारे पार्टी स्पष्ट धारणा आउनुपर्ने बताएका भट्टराईले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ४ : २० बजे