सडक यातायात क्रमशः सहजतातर्फ

प्रधानन्यायाधीश विरुद्धको महाभियोग पारित गर्नलाई ल्याइएको होइन : उपनेता नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गर्नुभएको छ  ।

“यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो ।” उहाँले भन्नुभयो ।

उहाँले संसद्मा एमालेको मत बिना महाअभियोग पारित हुँदैन भनेर थाहा हुँदाहुँदै कुनै सरसल्लाह नगरीकन छापामार शैलीमा ल्याइएकाले आशङ्का बढाएको बताउनुभयो ।

सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो । 

महाभियोग प्रस्ताव पारित हुन संसद्मा दुई तिहाइ मत आवश्यक पर्ने भए पनि सत्ता गठबन्धनसँग त्यो मत छैन । तर, आफूहरूसँग छलफल नै नगरी ल्याइएको महाअभियोग प्रस्ताव स्थानीय तहको चुनाव सार्ने षडयन्त्र हुनसक्ने एमालेको प्रारम्भिक आँकलन छ ।

सरकारले  वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । तर, सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बेखुस छन् । 

यी दुई दलले आगामी कात्तिक वा चैतमा स्थानीय तहको चुनाव हुनुपर्ने बताउँदै आएका छन्। 

“स्थानीय तहको निर्वाचन असंवैधानिक छ, कानुनसम्मत छैन भनेर पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल बोलिरहनुभएको थियो । उहाँहरूले चुनाव कात्तिक र चैतमा लैजानुपर्छ भनिरहनुभएको थियो”,  उपनेता नेम्वाङले भन्नुभयो, “यही उद्देश्य पूरा गर्न महाअभियोग ल्याइएको हामीलाई आशङ्का छ ।”

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : २४ बजे