काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरसको खोप आफ्नो प्रशासनको पहिलो सय दिनमा २० करोड मानिसलाई लगाउने बाचा गरेका छन्।
बीबीसीका अनुसार ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए। बाइडनले भने, ''आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौँ।''
उनले भने, ''मलाई थाहा छ यो लक्ष्य महत्वाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो। तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन्। र, मलाई विश्वास छ कि हामी यो बाचा पनि पूरा गर्नसक्छौं।''
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ। अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ।
प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार ७ : ४७ बजे
प्रतिक्रिया