आन्तरिक हवाई उडानमा अत्यधिक चाप

जनयुद्धको उपलब्धिलाई प्रचण्डले सत्ताको कुर्सीसँग साटे : प्रभु साह

गौर । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनयुद्धको उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको आरोप लगाउनुभएको छ । 

२७ औँ जनयुद्ध दिवसको अवसरमा आइतबार रौतहटको फतुवा विजयपुरमा आयोजित सहिद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री साहले प्रचण्डलाई लाल गद्दारको संज्ञा दिनुभएको छ ।

परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मूल मर्मलाई लत्त्याउँदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाइ छ । सयौँ सहिदको रगतको बलमा जनयुद्धमार्फत देशमा प्राप्त उपलब्धिहरू काँग्रेसको पाउँमा चढाएको उहाँको आरोप छ ।

नेता साहले रौतहटका प्रथम जनयुद्ध सहिद मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गर्नुभयो । फतुवा विजयपुर नगरपालिकाका उपमेयर समेत रहेकी सहिद मनरुप महतोको श्रीमती कान्ति देवी महतोको अगुवाइमा मनरुप स्मृति पार्क र भवन निर्माण भएको हो । 

उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरू कुन्दन कुश्वहा र उद्धव रेग्मी, प्रदेश उप–सचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह(अमर), मौलापुर नगरपालिकाकी मेयर रीना साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : २४ बजे