गौशालामा कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौँ – स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ ।  मारवाडी सेवा समितिले निर्माण गरेको  केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज  शुभारम्भ गर्नुभयो ।   केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रं (सिसिएमसी)का संयोजक पोखरेललाई जानकारी गराउनुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध  सबैले मिलेर लड्नुपर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, “ यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खेल्छ तर यो लडाइँको मोर्चामा हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।” 

उहाँले  केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सिसिएमसी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँका अनुसार अहिले देशका ८६ ठाउँमा पिसिआर प्रयोगशाला  र  केन्द्रदेखि स्थानीय तहसम्म कोभिड–१९ को उपचार गर्ने अस्पताल स्थापना भएको  छ । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले  अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोना भाइरसविरुद्धको खोप खरीदका लागि  औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिनुभयो ।

सात वटै प्रदेशमा सात र काठमाडौंँमा एक गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरु गरिने उहाँको भनाइ थियो । सेवाका अध्यक्ष गोयलले  नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा निर्मित अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : २३ बजे