चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ ।
शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पद ग्रहण एवं सम्मान कार्यक्रमलाई शनिवार साँझ सम्बोधन गर्नुहुँदै उहाँले एमसिसीका बारेमा प्रायोजित रूपमा फैलाइएको भ्रम चिर्न आवश्यक छ भन्नुभयो ।
एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठुलो सहयोग रहेको जनाउँदै उहाँले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने छ भन्नुभयो ।उहाँले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले काँग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी काँग्रेस नै हो ।”
कार्यक्रममा भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, जेसिजका नेतृहरू तारा गुरुङ, प्रमिशा काफ्ले लगायतले बोल्नुभएको थियो । यसअघिका जेसिजका अध्यक्ष इन्द्रलाल श्रेष्ठको समितिले मसिना गुरुङको समितिलाई पद हस्तान्तरण गरेको थियो ।रासस
प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार ८ : ५५ बजे
प्रतिक्रिया