सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

एमसीसीबारे प्रचण्डले अभिव्यक्ति दूर्भाग्यपूर्ण : ईश्वर पाेखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे झिल्केमिल्के अभिव्यक्ति दिने गरेको बताउनुभएको छ। 

पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागिपरेको पोखरेलको भनाइ छ । 

काठमाडौं महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको शनिबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमसीसीबारे प्रचण्डले दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो । 

राजनीतिक पार्टीका मान्छेहरूमा विकृति आयो भने समाजमा पनि विकृति बढ्ने बताउँदै पोखरेलले भन्नुभयो – ‘राजनीतिक पार्टीका नेता यता हेर्‍यो यतैका कुरा, उता हेर्‍यो उताका कुरा, ऊ पर हेर्‍यो, परका कुरा गर्ने खालका भए भने त्यो फट्याईबाट समाज आक्रान्त हुन पुग्छ, यो कुरालाई पनि चिन्नुपर्ने जरुरी हुन्छ, राजनीतिक पार्टीका मान्छेहरूले जे जनताको हितमा, देशको हितमा हुन्छ, त्यो सही कुरा बोल्ने सामर्थ्य राख्नुपर्दछ, नत्र भने यता गयो यताका कुरा, उता गयो उताका कुरा गर्ने चरित्र देखायो भने त्यसले नोक्सानी हुन्छ, जो अहिले हामी देख्दैछौं, भोग्दैछौं ।’

उहाँले भन्नुभयो – ‘विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा, जनतासँग गयो अर्कै कुरा, यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन्, जो दूर्भाग्यपूर्ण कुरा हो, यस्तो हुनु हुँदैन । देश र जनताको हित विपरित हुने खालका अभिव्यक्ति र गतिविधिले समाजमा झनै विकृति बढाउने उहाँको ठहर छ ।

राजनीतिक दलका नेताहरु जनताको निगरानीमा बस्नुपर्ने पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जनताको निगरानी र खबरदारी बस्नुपर्छ, हामी राजनीतिक पार्टीका मान्छेहरु पनि जनताको निगरानीमा बसिराख्यौ भने हामीबाट भूलचुक हुन कमी हुन्छ,भूलचुक हुँदैन, भइहाल्यो भने थोरै होला, सच्याउन सकिन्छ, तर जनताको निगरानीमा बसिएन भने कमजोरीहरू हुन्छन् ।’

सार्वजनिक सम्पत्ति अतिक्रमण हुन नदिन र त्यसको सदूपयोग हुनेगरी अघि बढाउन स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : ०७ बजे