काठमाडौँ । चार देशीय टी–२० शृङ्खलाको दोस्रो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध मैदान उत्रँदै छ ।
शृङ्खलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल युएईविरुद्ध मैदान उत्रँदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ः०० बजेदेखि सुरु हुनेछ ।
शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रवार ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालको जितमा ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए । ओमानविरुद्धको ७३ रन दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो ।
आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, युएई र आयरल्यान्ड चार देशीय शृङ्खलामा सहभागी छन् ।
प्रकाशित मिति : २९ माघ २०७८, शनिबार ११ : ३२ बजे
प्रतिक्रिया