आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमसीसी पारित नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने अमेरिकी सहायक विदेश मन्त्रीको चेतावनी

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग टेलिफोन वार्ता गर्नुभएको छ ।  

लुले बिहीबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्ता गर्नुभएको हो ।

अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा तीन जना नेतासँग छलफल गर्दै मन्त्री लुले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने चेतावनी दिनुभएको हो । 

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले मन्त्री लु र अध्यक्ष ओलीबीच टेलिफोन वार्ता भएको पुष्टि गर्नुभयो ।  लु र ओलीबीच नेपाल र अमेरिकाको ऐतिहासिक सम्बन्धबारे चर्चा भएको भट्टराईले जानकारी दिनुभयो । लुले एमालेलाई एमसीसीमा सहयोग गर्न आग्रह गरे पनि ओलीले अहिले आफ्नो पार्टी प्रतिपक्षी रहेको र  प्रतिपक्षी दलको रूपमा एमसीसीबारे पोजिसन बनाउने स्थानमा आफ्नो दल नरहेको बताउनुभयो ।  

वार्तामा सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपाल र अमेरिकाको पुरानो सम्बन्धबारे चर्चा गर्नुभएको थियो। उहाँले यदि एमसीसी पास नभए नेपाल र अमेरिकाको ऐतिहासिक सम्बन्धमा प्रभाव पार्न सक्ने बताउनुभएको थियो । 

देउवा र दाहालसँगको कुराकानीमा पनि उपविदेश मन्त्री लूले एमसीसी छिटो पास गर्न दबाब दिनुभएको बताइन्छ । 

लुले माओवादी अध्यक्ष प्रचण्डलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्ने पत्रमा हस्ताक्षर गरेको स्मरण गराउँदै अनुमोदन गर्न आग्रह गर्नुभएको थियो । बालुवाटार स्रोतले समेत प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता भएको पुष्ट गरेको छ । लुले प्रधानमन्त्री देउवासँग एमसीसी टेबुल गर्न किन विलम्ब भएको भन्दै प्रश्न गर्नुभएको थियो ।  

जवाफमा प्रधानमन्त्री देउवाले सरकार यसमा प्रतिबद्ध रहेको भन्दै आफ्नो पार्टीमा अनुमोदन गर्नेबारे समस्या नरहेको बताउनुभएको थियो । देउवाले सत्ता गठबन्धन दलहरूबीच पनि सहमतिको प्रयास भइरहेको छ, यसबारे हामी छिट्टै सकारात्मक निष्कर्षमा पुग्दै छौँ  भन्ने जवाफ दिनुभएको थियो । 

लूले केही महिना पहिले पनि नेपाल भ्रमणमा तीनै शीर्ष नेतालाई भेटेर सम्झौता चाँडो पास गर्न दबाब दिनुभएको थियो । 

यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमारले नेपाली सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै यो अन्तिम मौका रहेको बताउनुभएको थियो । 

उहाँले नेपाली नेताहरूले नै फेब्रुअरी २८ को समय सीमा मागेकाले त्यसको सम्मान हुने अपेक्षा गर्नुभएको थियो । उहाँले  उक्त समय सीमामा पनि एमसीसी पास नभए उक्त परियोजना अन्य आवश्यक परेका देशलाई दिइने बताउनुभएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : १२ बजे