आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बालकोटमा राजेशमानले ओलीलाई भेट्दा पर्साको राजनीति तरङ्गित 

वीरगन्ज । मधेस आन्दोलनको एपिसेन्टर बनेको वीरगन्जका दुई हस्ति प्रदिप यादव र राजेशमान सिंह मध्ये सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि पर्साको राजनीति तरङ्गित भएको छ ।

वीरगन्जका लोकप्रिय नेता राजेशमान सिंह बालकोट पुगेको तस्बिर बुधवार सार्वजनिक भएको थियो । 

सिंहले २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवार बन्दा १२ हजार १६५ मत प्राप्त गरेर तेस्रो स्थान पाउनुभएको थियो । 

स्थानीय तह निर्वाचन घोषणा भएकै बेला सिंह बालकोट पुगेपछि सिंह एमाले प्रवेश गर्न लागेको चर्चाले यहाँको राजनीतिक माहौल फेरिएको हो । एमालेमा प्रवेश गर्न सिंह पनि तयार हुनुभएको र अध्यक्ष ओलीसँग सकारात्मक कुरा भएको र चाँडै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने लागिएको बताइन्छ । 

राजेशमानलाई ओलीसँग भेटाउने एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले वीरगन्जमा एमालेलाई पाँचौबाट पहिलो शक्ति बनाउने अभियान चलेको बताउनुभयो ।

उहाँले वृहत् पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओली फागुन १४ गते वीरगन्ज आउने भन्दै को–को प्रवेश गर्छन् त्यही बेला सार्वजनिक हुने बताउनुभयो । 

पर्सामा यसअघि नै माओवादीबाट निर्वाचित दुईवटा गाउँपालिका अध्यक्ष छिपहरमाइका मनोज गुप्ता र जगरनाथपुरका जालिम मिया एमालेमा समाहित भइसक्नुभएको छ । एमालेले अरू धेरै लोकप्रिय व्यक्ति एमाले प्रवेशको तयारीमा रहेको बताएको छ ।

यसैबीच तत्कालीन राजपाका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पट्टेल पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । राजेशमान सिंहसँगै तत्कालीन राजपाबाट वडाध्यक्ष उम्मेदवार बनेका २४ मध्ये १९ जना उनको साथमा रहेका र दुईजना निर्वाचित वडाध्यक्ष पनि सिंहकै राजनीतिक लाइनमा रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ५ : १५ बजे