आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निर्वाचनमा एमाले एक्लै जान्छ : महेश बस्नेत 

काठमाडौं – एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने सरकारको घोषणालाई आफ्नो पार्टीले स्वागत गरेको बताउनु भएको छ ।

‘स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको छ, म सरकारलाई धन्यवाद भन्न चाहन्छु । मिडियाको तर्फबाट ठूलो दबाब सिर्जना गर्नुभयो । प्रमुख प्रतिपक्षी दलले आन्दोलनको कार्यक्रम नै घोषणा गर्नुपरेको थियो । व्यापक जनदबाबपछि मिति घोषणा भयो,’ मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो ।

उहाँले कानुनी रुपमा चुनौती दिएर अदालत जाने र चुनाव सार्ने षड्यन्त्र पनि हुनसक्ने आशंका गर्नुभयो । ‘यो पाटोमा हामी चनाखो हुनुपर्छ । मुलुकको समृद्धि साकार पार्नका लागि न्यायालयले सकारात्मक भूमिका खेल्नुपर्छ । कहिलेकाहीँ न्यायालय सेटिङबाट चल्यो भन्ने पनि चर्चा छ,’ उहाँले भन्नुभयो ।

स्थानीय तहको निर्वाचनको सवालमा आफ्नो दलले कसैसँग पनि गठबन्धन नगर्ने बस्नेतको दाबी छ । ‘कुनै पनि खेलको मैदान होस् या निर्वाचनको मैदानमा जाने कुरा होस्, जुन शक्ति आफ्नो एजेन्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ । एमाले विश्वस्तका साथ निर्वाचनमा जान चाहन्छ,’ उहाँले भन्नुभयो ।

आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र गरेको पनि उहाँले  आरोप लगाउनुभयो । उहाँले भन्नुभयो , ‘उहाँहरू सकेसम्म निर्वाचन टार्ने अवस्थामा हुनुहुन्छ, सकेसम्म निर्वाचनमा जाँदा कांग्रेससँग गठबन्धन गर्ने उहाँहरुको योजना छ, त्यो पनि नभए एमालेसँग पनि विभिन्न शक्तिको ईशारामा उहाँहरुले एमालेका नेताहरुसँग साईनो र सम्बन्ध राख्ने काम गर्नुभएको छ, यसबारे प्रधानमन्त्री देउवापनि सचेत हुन आवश्यक छ । निर्वाचनमा मूलभूत रूपमा एमाले एक्लै जान्छ । तर, निर्वाचनमा कतिपय ठाउँमा स्थानीय आवश्यकत्ताको आधारमा तालमेल हुनसक्छ । यो कुरा हामी स्विकारेर जान्छौं ।’

नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गर्नु भएको छ । ‘अब एमालेले सभामुखज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्यान्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजिवीहरूको सुझाव पनि छ, अस्ति युवा संघको कार्यक्रममा कांग्रेस नेता डा.मिनेन्द्र रिजालले पनि भन्नुभयो । एमालेले महाभियोगको प्रस्ताव दर्ता गरोस्, पास या फेल हुने कुरा एउटा कुरा भयो, त्यसपछाडि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्यान्डिङको विषय हुनसक्छ भन्ने पनि यो आएको छ, त्योबारेमा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय नगरिसकेको कारणले त्यो विषयमा अहिले मैले यो नै हुन्छ भनेर भन्न सक्दिनँ । सभामुखज्यूलाई महाभियोग ल्याउन सक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ, उहाँको कारणले ।’

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ३ : ५८ बजे