यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई–पासपोर्ट पाउने

काठमाडौँ । कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सफलतापूर्वक छापिएको छ । 

आइतबार यसको सफल परीक्षण गरिएको हो । विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई–पासपोर्ट भएको राहदानी विभागले जनाएको छ । 

सफल परीक्षण भएसँगै ई–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ खुला गरेको छ । “सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको छ”, विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अन्य खाडी मुलुक र मलेसियामा रहेको नेपाली नियोगहरूमा ई–पासपोर्टको लागि आवश्यक पर्ने उपकरणहरू पठाइ सकिएको विभागले बताएको छ । उक्त सामानहरू जडान हुनासाथ ती दूतावासबाट केही दिन भित्रै ई–पासपोर्ट सेवा सुरु गरिनेछ । 

विभागका अनुसार अहिले अन्य मुलुकहरूमा रहेका नेपाली नियोगहरूमा पनि उपकरणहरू पठाउने कार्य भइरहेको छ । 

नेपाल भित्र ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ । 

अन्य जिल्लाहरूमा तीन वटा प्राविधिक टोलीहरूले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको छ । 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ११ : ५५ बजे