व्यक्तिको विश्व दृष्टिकोण उसको अनुभव र उसले प्राप्त गरेको शिक्षा [Informal, Formal] हरूले तय गर्छ । जसले गर्दा व्यक्तिपिच्छे विश्व दृष्टिकोण पनि फरक फरक हुने गर्दछ । उसका आनीबानीहरूमा त्यसले प्रभाव पार्छ । त्यसैले असल विश्व दृष्टिकोण निर्माणका लागि आज कस्तो शिक्षा व्यवस्था भन्ने प्रश्नमा केन्द्रित बहस आवश्यक भएको छ । फेरि, त्यो शिक्षा व्यवस्था कुन चिन्तन प्रणालीको जगमा विकास गर्ने भन्ने सवालमा हामी स्पष्ट पनि हुनुपर्ने भएको छ ।
उमेर, शिक्षा र अनुभवअनुसार हरेक व्यक्तिको विश्व दृष्टिकोणमा आधारभूत फरकहरू देखिन सक्छन् । यो स्वाभाविक र प्राकृतिक नियम पनि हो । जसले व्यावहारिक रूपमा व्यक्तिलाई परिपक्व बनाउने काम गरिरहेको हुन्छ । त्यसै अनुसार व्यक्तिको आनीबानी, सोच्ने शैली र व्यवहारहरूमा क्रमिक परिवर्तन देखिने गर्दछ । कतिले त्यसलाई बोलीबाट व्यक्त गर्ने गर्छन् भने कतिले व्यवहारहरूबाट आफूमा आएको परिवर्तन अरूले अनुभव गरून् भन्ने ठान्दछन् ।
स्वभावैले प्रत्येक मान्छे आफ्नो विश्व दृष्टिकोण नै ठिक छ भन्ने ठान्छ । सबैमा त्यही विश्वास पनि हुन्छ । अनि त्यो विश्वास समयान्तरमा सामूहिक दृष्टिकोण अर्थात् दर्शन, चिन्तन प्रणाली बन्ने रहेछ । यसका लागि हामीले कैयौँ पुस्ता व्यतीत गरेका छौँ । हाम्रो लामो अनुभव अनि भिन्न विश्व दृष्टिकोणहरूको निष्कर्षहरूबाट पूर्वीय चिन्तन प्रणालीको विकास भएको हो । तर शताब्दीयौँ लगाएर विकास गरिएको चिन्तन प्रणाली छोडेर हामी आयातित चिन्तन प्रणालीबाट निर्देशित हुन खोज्दा देशमा अस्वाभाविक रूपमा द्वन्द्वपूर्ण परिस्थिति बन्दैछ । अनि हामी आफ्नोपनमा होइन, आयातित भाषा, संस्कृति र धर्म अर्थात् पहिचानमा रमाउन थाल्दा हाम्रो मनस्थिति हिजोभन्दा आज नकारात्मक बन्न थालेको छ । एक हिसाबले यी पनि हाम्रो सामाजिक आर्थिक विकासका बाधक हुन् । यस्तै कारणले राजनैतिक तथा संवैधानिक व्यवस्था गतिशील बन्दैन वा अस्थिर बन्छ कि भन्ने डर त्रास बढ्न थालेको छ ।
जीवन गुणात्मक बनाउन भौतिक सुखसँगै आत्मिक आनन्द पनि आवश्यक पर्दछ । भौतिक र आत्मिक सुख चिन्न र त्यसलाई ठिक ढङ्गले उपभोग तथा अनुभूति गर्नलाई शैक्षिक र भावनात्मक प्रभावको भूमिका प्रधान हुन्छ । भावनात्मक रूपमा बलियो नभई कन हामी आत्मिक रूपमा स्पष्ट हुन सक्दैनौँ । आत्मिक रूपमा स्पष्ट नभएको मान्छेले गर्ने क्रियाकलापहरूले प्रायः सधैँ समस्यामा पार्ने गर्छ । उसले आत्मगत शक्ति ठम्याउन सक्दैन, तथापि ऊ आफू ठिक भएको भ्रममा परिरहन्छ ।
शैक्षिक, भावनात्मक, आत्मिक र धार्मिक यी चार पक्षबीचको अन्तरसम्बन्धका बारेमा स्पष्ट नभई कन अघि बढ्न खोज्दा हामीले अस्वाभाविक द्वन्द्वपूर्ण मनस्थिति र परिस्थितिको सामना गरिरहेका छौँ । सुख अर्थात् भविष्य सुनिश्चित र सुरक्षित बनाउने नाममा आफूसँग भएको सामर्थ्य र सम्भावना नचिनेर यत्रतत्र भौँतारिरहेका छौँ । जसरी आफैभित्र भएको कस्तुरीको बास्ना नचिनेर मृग त्यसको खोजीमा दौडिरहेको हुन्छ, जसलाई मृगतृष्णा भन्ने गरिन्छ । त्यसैले आफूसँग भएको सम्भावना र सामर्थ्य चिनाउने र त्यसको उपयोग गरेर समृद्ध बन्न सहयोग गर्ने शिक्षा व्यवस्थाको विकास अनिवार्य भएको छ । तर यस आवश्यकतालाई हामीले बुझ्न सकिरहेका छैनौँ ।
य प्रकारको अन्योल र भ्रमहरूबाट मुक्त हुँदै आफ्नोपन र क्षमताको जगमा समृद्धिको यात्रा अघि बढाउन हामीले सबभन्दा पहिला शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्छ । शिक्षा व्यवस्थामा परिवर्तन सँगसँगै प्रशासनिक, न्यायिक र आर्थिक क्षेत्रमा पनि संरचनात्मक परिवर्तन गर्न हामी तयार हुनुपर्छ । यसका लागि समानान्तर रूपमा हामीले परिवर्तनका योजनाअनुसार क्रियाकलापहरू नियमित रूपमा अघि बढाउनु पर्दछ । यो आफैमा चुनौती पनि हो । यसर्थ, नयाँ पुस्ताको मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउन हामीले धारणागत रूपमा स्पष्ट हुने गरी विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूलाई पढ्ने —पढाउने वातावरण बनाउनुपर्दछ ।
अवधारणागत स्पष्टताविना गरिने शैक्षिक क्रियाकलापहरूले विद्यार्थीहरूको आनीबानी र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्तैन । यसो नभई व्यक्तिमा गुणात्मक सोचको विकास हुँदैन । समाजको अपेक्षित सुधारको परिकल्पना पूरा हुन पनि दिँदैन । अहिले हामीले अनुभव गरिरहेको विषय यही हो । नागरिक विदेश पलायनको भयावह स्थिति देखिनु खराब शिक्षा व्यवस्थाको प्रतिफल पनि हो भनेर हामीले बुझ्नुपर्छ ।
पछिल्लो समय शैक्षिक सुधारमा केन्द्रित भएर बहसहरू हुन थालेका छन् । यसो हुनुलाई सकारात्मक सुरूआत मान्नुपर्छ । तर यथास्थितिमा सुधारले मात्र होइन, आमूल परिवर्तनको आवश्यकतालाई जोड दिएर चिन्तन हुन सकेको छैन । कुन दर्शनको जगमा नयाँ शिक्षा व्यवस्थाको विकास गर्ने, पश्चिमा दर्शनलाई कसरी प्रयोग गर्ने अर्थात् दर्शनहरूबीचको सन्तुलन कसरी मिलाउने ? भन्ने सवालमा हामी स्पष्ट हुन सकेका छैनौँ । मौलिक तथा ऐतिहासिक ज्ञान, विज्ञान, सीप र प्रविधि अनि साहित्यहरू मार्फत विद्यार्थीहरूको सिकाइ उपलब्धि विशिष्ट बनाउन भाषाहरूको प्रयोग कुन तहमा कसरी गर्ने ? भन्ने प्रश्नमा अलमलमा परेका छौँ । शिक्षामा निःशुल्कीकरण र व्यापारीकरण गरिनु हुन्न भन्ने कुरामा लगभग सहमत भए तापनि कडा रूपमा प्रस्तुत हुन सकिरहेका छैनौँ ।
किङ्स कलेजका नरोत्तम अर्याल भन्छन्, “समाजभन्दा शिक्षा एक कदम भए पनि अगाडि हुनुपर्ने हो । समाज कता जाँदैछ ? अहिलेको प्रवृत्ति के छ ? भविष्य कस्तो हुँदैछ भनेर सूचित गर्नुपर्ने दायित्व शिक्षाको हो । तर हामीकहाँ ठिक उल्टो भयो । समाज यति टाढा वा अगाडि गइसक्दा शिक्षा प्रणाली भने जहाँको त्यहीँ सुतेर बसिरहेको छ । सबभन्दा ठुलो समस्या नै यही छ ।”
हिजो आफूले पाएको शिक्षाले आज आफ्नो जीवनमा प्रभाव पारेको हुन्छ भन्ने चेत हामीमा आउने हो भने नयाँ पुस्तालाई कस्तो शिक्षाबाट दीक्षित गर्नुपर्छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । यो कुरा बुझेर हामीले शिक्षाका बारेमा चिन्तन मनन गर्ने गरेका छैनौँ । किनभने, शिक्षा र जीवनबीचको अन्तरसम्बन्धको महत्त्वका बारेमा हामी केन्द्रित हुन सकेका छैनौँ । अनि त हामी आफ्नो अनुभव, मौलिक ज्ञान र विज्ञान अनि क्षमता र सम्भावनाहरूलाई बिर्सिएर सुखसँगै समृद्धि खोजेर दुःखी भइरहेका छौँ । तर अझै पनि हामी राजनीति नै मुख्य समस्या हो भनेर शैक्षिक मुद्दामा केन्द्रित भएर क्रियाशील हुन सकेका छैनौँ ।
जीवनलाई गुणात्मक बनाउने मुख्य आधार व्यक्तिको मनोविज्ञान, विश्वास र व्यवहार हो । आज यी तीनै विषय समस्यामा परेको छ । मनोवैज्ञानिक रूपमा कमजोर, विश्वासमा ढुलमुल अनि व्यावहारिक रूपमा विवादित र विभाजित भएर मान्छे क्रियाशील हुँदैछ । यी तीन पक्षलाई राम्रो बनाउन सबभन्दा पहिला हामीले शिक्षा व्यवस्थामा नै आमूल परिवर्तन गर्नुपर्छ । तर यो अनिवार्यतालाई बुझाउन नसक्दा यथास्थितिमा परिवर्तन गर्न खोज्दै समय र सामर्थ्य खेर फालिरहेका छौँ ।
नागरिकमा सचेतनापूर्ण जागरूकता सिर्जना गर्ने मुख्य माध्यम नै शिक्षा हो । त्यसैले शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्ने अनिवार्यताका सन्दर्भमा विभिन्न माध्यमबाट मुख्य सरोकारवालाहरूलाई बुझाउनु पर्नेछ । यसका लागि नियमित रूपमा विभिन्न माध्यमहरूबाट पैरवी गर्दै शिक्षालाई बहसको मुख्य मुद्दा बनाउनु पर्दछ । अन्यथा नयाँ पुस्ता भ्रमले सिर्जित भीडको पछि लागेर आफ्नो र देशको भविष्य सङ्कटमा पार्ने क्रियाकलापहरूमा संलग्न हुनेछन् । जसरी हिजो हत्या, हिंसा र द्वन्द्वको राजनीतिमा लागेर हजारौँ नागरिकको जीवन समाप्त पारियो । भौतिक संरचनाहरू ध्वस्त बनाइयो । त्यो प्रवृत्ति अझै बलशाली हुँदै राजनीतिक अस्थिरताका कारण बनेर देशलाई समस्यामा पार्न खोज्दै छ । अहिले स्थानीय निर्वाचन र एमसीसीलाई लिएर भइरहेको विवाद त्यसकै प्रतिफल हो ।
हाम्रो विश्व दृष्टिकोणको व्यापकता र हामी कति बुद्धिमानी छौँ भन्ने कुरा हामीले प्राप्त गरिरहेको शिक्षाको दर्शन, नीति र अभ्यासले निर्धारण गर्दछ । तर हामी भने भीड र भ्रमपूर्ण आवाजमार्फत निर्देशित भएर परिस्थितिलाई जटिल बनाउँदैछौँ न कि शिक्षा व्यवस्थाको आमूल परिवर्तनमा केन्द्रित हुन सकिरहेका छौँ ।
समृद्ध नयाँ नेपाल बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न हाम्रो साधन श्रोत र क्षमताले मात्र पुगेको छैन । त्यसमाथि कोरोना महामारी र अन्य कारणले आर्थिक सङ्कट बढेको छ । यस्तो अवस्थामा बाह्य ऋण, दान—अनुदान र लगानी चाहेर पनि रोक्न सक्ने स्थिति छैन । तर हामी भने अमेरिकाको एमसीसी अनुदानलाई मात्र राष्ट्रघात भन्दै आत्मसन्तुष्टि लिइरहेका छौँ । एमसीसीबारे जान्न बुझ्न पर्ने धेरै कुरा बाँकी होला, तर पहिले अरूण तेस्रो जलविद्युत परियोजनाको विरोध गरेर त्यो परियोजना भारतलाई सुम्पनेहरू अहिले एमसीसीको विरोध गरेर कमाउँदै छन् ।
यसर्थ एमसीसीका बारेमा भ्रमित हुँदै यसको पक्ष वा विपक्षमा अराजक भएर लेख्नु वा बोल्नु आवश्यक छैन, किनभने दान—अनुदान मन्द विष नै हो । त्यसैले आम नागरिकलाई स्पष्ट पार्नका लागि Informal, Formal / Non-formal शिक्षाहरूको ढाँचामा आमूल परिवर्तन गर्दै परनिर्भर अर्थतन्त्रलाई अन्तरपरनिर्भर बनाउँदै सबल बनाउन सोबमोजिम शिक्षालयहरूबाट नागरिक तयार गर्नुपर्छ भन्ने आवश्यकतालाई हामीले समयमै बुझ्नुपर्छ ।
प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ११ : १० बजे
प्रतिक्रिया