साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

अति आवश्यक ढुवानीमा राष्ट्रिय ध्वजावाहकको सक्रियता

काठमाडौँ,  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स) ले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाएको छ ।
    कोभिड–१९ (कोरोना भाइरस) को अहिलेको महामारीमा विगतको भन्दा यो वर्ष निगमले मेडिकल चाटर्ड उडान तुलनात्मक रुपमा धेरै गरेको छ । अहिले दैनिक रुपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा भविष्यमा यस महामारीको स्वरुपको पूर्वानुमान समेत गर्न नसक्ने स्थिति छ । यही परिस्थितिको आँकलन गर्दै नेपालका कोरोनाबाट प्रभावित नागरिकको सङ्ख्या एवम् विद्यमान पूर्वाधारलाई दृष्टिगत गर्दै मित्रराष्ट्र चीनले उलब्ध गराएको खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नट्रेटरलगायतको स्वास्थ्य सामग्री, भारत र चीनले उपलब्ध गराएका कोरोना विरुद्धको खोपजस्त राज्यका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता आफैमा प्रसंशनीय रहेको छ ।

    निगमले चीनको बेइजिङ्बाट हाल पाँच उडान गरी जम्मा दुई हजार ३३५ खाली अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटे«टरलगायतका स्वास्थ्य सामग्री मे १९ तारिखसम्म काठमाडौँ ल्याउदैछ भने हालै १५ मे मा ओमनबाट अक्सिजन सिलिण्डर तथा औषधिजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी ल्याएको छ ।
    निगमका निर्देशक एवम् प्रवक्ता करिश्मा श्रेष्ठसँग आगामी चार्टर्ड उडानको सम्बन्धमा जिज्ञासा राख्दा उहाँको भनाई थियो “निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रत्यक्ष निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा कार्यसम्पादन गर्दै आएको छ, सोही क्रममा सिङ्गापुरबाट मे २२ मा स्वास्थ्य सामग्री ल्याउने तयारीमा जुटेको छ ।”

उहाँका अनुसार सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा आरएको जहाजबाट बिहान उडान गर्ने र सोही दिन साँझ काठमाडौँ स्वास्थ्य सामग्री ल्याउने गृहकार्य गरिरहेको छ ।     निगमले मित्रराष्ट्र भारतका नागरिकहरुका लागि मात्र भारतीय दूतावासको सिफारिसका आधारमा मे १८ देखि २२ सम्म साउदी अरेबियामा सात वटा उडान गर्नेछ । भारतीय नागरिक अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानको लागि नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाइ उडान प्रतिबन्ध लगाए पनि ती भारतीय अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमको सात र तीन उडान हिमालय एयरलाइन्सले गर्नेछ ।  

नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासको समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीय नागरिकको हकमा निगमद्धारा उपलब्ध गराएको टिकटको आधारमा पाँच वटा उडान साउदीको रियाद र दुई वटा दमामका लागि निर्धारण गरेको छ ।     निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।

निगमका सह–प्रवक्ता सुलेख मिश्रले निगमले मुनाफा सहितको सुरक्षित सेवा र दैवी प्रकोपको हकमा ऐन अनुसार सेवा प्रदान गर्दै आएको छ । 

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलसहितका टिम उच्च सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उहाँका अनुसार निगमले चीनको सेनजेनमा यही मे १९ मा मेडिकल चाटर्ड उडान गरी सोही दिन फर्किने तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी जम्मा चार जहाज अन्तरराष्ट्रिय उडानका लागि भएपनि व्यावसायिक र आवश्यकताको तुलनामा जहाजको सङ्ख्या कम रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ६ : ५३ बजे