आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मूर्ति चोरलाई मन्त्री बनाउँदै माओवादी :धोबीको कुकुर बन्यौ भन्दै विद्रोहको तयारी

​​​​​​​
काठमाडौँ । नेकपा माओवादीले कर्णाली प्रदेशमा गैरसांसद र मूर्ति चोरेका दाेषीलाई मन्त्री बनाउन खोजेपछि माओवादीभित्र ब्यापक असुन्तुष्टी चुलिएको छ ।  

माओवादी कर्णालीका सचेतक ठम्बर विष्टले हुम्लाका गैरसांसद छिरिङ डम्डोल लामा (कार्चेन) लाई मन्त्री बनाउन सिफारिस गरेकोप्रति अपत्ति जनाउँदै पार्टीको उक्त निर्णय माओवादी आन्दोलनमाथिकै ‘कलंक’ भएको बताएका छन् ।
उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै पार्टीले आफूहरूलाई धोबीको कुकुर बनाएको समेत आरोप लगाएका  छन् ।

माओवादी अध्यक्ष प्रचण्डको निर्देशनमा गैरसांसद लामालाई मन्त्री बनाउन लागिएको हो । लामा हिमाली भोटे लामा राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष हुन । उनि हाल माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी समितिको सदस्य छन् ।

नेता विष्टले सामाजिक सञ्जालमार्फत प्रदेशसभामा योग्य सांसदहरु हुँदा हुँदै गैरसांसदलाई मन्त्री बनाउने अराजनैतिक कदम भएको र कलाविहीन नाटक प्रर्दसन गर्न खोजिएको बताएका छन् । राजनैतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई पार्टीले धोवीको कुकुर जस्तो घरको न घाटको बनाउन खोजेको उनको भनाई छ । 

लामा यसअघि चोरी मुद्दामा जेल पुगिसकेका व्यक्ति हुन् । उनीमाथि चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाको १२ सय वर्ष पुरानो मुर्ति चोरी गरेको अभियोग लागेको थियो ।

उक्त मुर्ति चोरी प्रकरणमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ सालमा लामा र छिरिङ पाल्देन लामाविरुद्ध चोरी मुद्दा चलाएको थियो । प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

त्यसबेला जिल्ला अदालत हुम्लाका न्यायाधीश नीलकण्ठ उपाध्यायले लामालाई दोषी ठहर गर्दै २०५१ मा दुई वर्ष जेल सजाय सुनाएका थिए । उक्त फैसलाको सजाय र ५ हजार जरिबाना लामाले गत असोजमा मात्रै भुक्तान गरेको खुलेको छ । 

कर्णालीमा सत्ता गठबन्धनभित्र भागबण्डा नमिल्दा ३ महिनादेखी सरकारले पूर्णता पाउन सकेको थिएन । मन्त्रिमण्डल विस्तार गर्न नसक्दा मुख्यमन्त्री शाहीको चर्को आलोचना हुने गरेको थियो । माओवादी र कांग्रेसबीच मन्त्रालयको संख्यामा कुरा नमिल्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको छ । 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : ४५ बजे