तीन जनाको हत्या गरी गाड्ने समूहको पहिचान, आफ्नै पार्टनरको योजनामा यसरी भएको थियो हत्या 

काठमाडौं । प्रहरीले एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेर गाडेको निष्कर्ष निकालेको छ।

मोरङको  उखुबारीमा गाडिएको अवस्थामा फेला परेका दुई शवको अनुसन्धानमा खटेको प्रहरीले एउटै समूहबाट तीन जनाको हत्या भएको निष्कर्ष निकालेको हो । प्रहरीले घटना संलग्न तीन जनालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका सिराहाका ३१ वर्षीय अनिल मण्डलबाट ललितपुरको गोदावरी नगरपालिका(१२ धापाखेलमा पनि अर्को एक व्यक्तिको शव गाडिएको फेला परेको हो ।

घरको किनारमा खाल्डो खनेर पुरिएको अवस्थामा ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेसँगै तीनवटै घटनामा संलग्नरहेकाहरुको पहिचान भएको हो । 

प्रहरले यी तीनबटा घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिकसमेत गरेको छ । 

पक्राउ पर्नेमा सिराहा नगरपालिका घर भएका ३१ वर्षीय अनिल मण्डल, मोरङ धनपालथान गाउँपालिका ७ घर भएका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका घर भएका अमित साह भनिने दीनानाथ सोनार रहेका छन् । तीनवटै घटनाका मुख्य योजनाकार अनिल मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेर मोरङ र्पुयाइएको थियो । 

मण्डल पक्राउसँगै उनीहरुले तीन फरक फरक मितिमा तीन जनाको हत्या गरेको खुलेको हो । उनीहरुले तेह्रथुमका ६२ वर्षीय मोहनप्रसाद लिम्बु, सुनसरीको धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ गाउँपालिका–४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या गरेको खुलेको हो ।

माघ १२ र १३ गते मोरङले धनपालथान गाउँपालिका वडा नम्बर ७ बस्ने दिलिप सिंहको उखुबारीमा चौधरी र श्रेष्ठको शव भेटिएको थियो। शवसँग भेटिएको कागजपत्रको आधारमा उनीहरुको पहिचानसँगै सम्पर्कमा रहेका मानिसहरुको पहिचान खुलेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले महानगरीय अपराध महाशाखाको टोलीसँग संयुक्त अपरेसन गरेको थियो। जसको क्रममा प्रहरी काठमाडौंबाट अनिल मण्डललाई पक्राउ गर्न सफल भएको थियो।

 

अनिल मण्डलसँगको बयान र अन्य पाटोबाट अनुसन्धान गर्दै जाँदा ललितपुरको गोदावरी नगरपालिका १२ मा बिहीवार गाडिएको अवस्थामा मोहनप्रसाद लिम्बुको शव फेला परेको थियो । करिब पाँच फिट गहिरो खाल्डो खनेर त्यसमाथि माटो हाली सिमेन्टले ढलान गरेर शव पुरिएको अवस्थामा लिम्बुको शब फेला पारेको थियो। लिम्बुको मंसिर २८ गते हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । मण्डलले उक्र घर लामो समयदेखि भाडामा लिएका थिए  । हत्यापछि भने मण्डलउक्त घरमा बस्न छोडेका थिए  । लिम्बुको हत्यापछि अन्य दुई जनाको हत्या भएको थियो । हत्या भएका श्रेष्ठ भक्तपुर र चौधरी काठमाडौंमा बस्दै आएका थिए।

 

जग्गाको कारोबार गर्ने भन्दै श्रेष्ठ र चौधरी विराटनगर पुगेका थिए। यताबाट अनिल मण्डल पनि पुस २९ गते  विरानगर गएको अनुसन्धानमा खुलेको छ । घटनामा मण्डलले भारतीय नागरिकलाई समेत प्रयोग गरेका थिए । त्यही अनुसार पुस ५ गते श्रेष्ठको हत्या भएको थियो। तीन जना मिलेर व्यपार व्यवसाय गरे पनि उनीहरुलाई लिम्बु मरेको भने जानकारी थिएन। त्यसपछि पुस ७ गते चौधरीको हत्या गरिएको थियो।

 

हत्या गरेका दुवै जनाको शव मोरङको उखुबारीमा ३० फिटको फरकमा एउटै प्रकृतिमा खाल्डो खनेर गाडेका थिए। जबकि करिब एक महिनपछि मात्र उखु काट्ने क्रममा दुईवटा शव फेला परेको थियो। शव फेला परेको दुई दिनपछि मात्र उनीहरुको पहिचान भएको थियो । हत्याको कारण आर्थिक पाटो भएको  प्रहरीको भनाई  छ । पक्राउ परेका  अनिलकुमार मण्डल काठमाडौंमा सञ्चालनमा रहेको एक सहकारी संस्थाको अध्यक्ष भएको खुलेको छ ।

अपराध महाशाखाका अनुसार पक्राउ परेका अनिलकुमार मण्डल हत्या भएका मोहन लिम्बु, सिरहामा हत्या भएका २ जनाबीच विभिन्न व्यवसाय गर्ने र व्यक्तिहरुलाई ठग्ने उदेश्यले २ अर्बको कारोवार गर्ने सम्झौताको कागजात फेला परेको छ । 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ३ : ०१ बजे