बेइजिङ। चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ ।
युक्रेनलाई लिएर पश्चिमा मुलुकहरूसँग रसियाको तनाव बढिरहेका बेला चीन र रसियाका राष्ट्रपतिबीच भेट हुन लागेको हो ।
कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोड्नुभएको छैन । तर, अहिले भने उहाँले विश्वका २० भन्दा बढी नेताहरूलाई स्वदेशमा भेट्न पाउने हुनुभएको छ । उहाँलाई बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो ।
पुटिन र सीबीच राजधानी बेइजिङमा आज भेट गर्ने कार्यक्रम रहेको छ । भेटअघि दुवै देशहरूले सुरक्षा र अन्य विषयमा उनीहरूको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्ने बताइएको छ । त्यसपछि दुवै नेता आज साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुनेछ ।
पश्चिमा मुलुकहरूसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ । ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागिताको पुष्टि जनाउने राष्ट्रपति पुटिन पहिलो विदेशी नेता हुनुहुन्छ । डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गर्नुभएको थियो ।
युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ ।
प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १० : २० बजे
प्रतिक्रिया