आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नारायणहिटी सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न मन्त्री आलेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न निर्देशन दिनुभएको छ ।  

सङ्ग्रहालयको आज अनुगमन तथा निरीक्षणपश्चात मन्त्री आलेले पर्यटक आर्कषित गर्न तथा दरबारको अस्तित्व जोगाइ राख्नका लागि आकर्षक र सुन्दर बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणहिटी ऐतिहासिक दरबार हो, यस्को सुन्दरतामा कमी नहोस्, बजेट आवश्यक परे माग्नुस् ।” निरीक्षण तथा अनुगमनका मन्त्री आलेले सङ्ग्रहालयको अगाडिको घरको छाना मर्मत, दरबारको रङ्गरोगन, दरबार अगाडिको भ¥याङ मर्मत, भित्रका सरसामानको सफाइ गर्न तथा दिगो राख्न, महेन्द्र मञ्जिलको छानो मर्मत गर्न निर्देशन दिनुभयो ।  

सो अवसरमा मन्त्री आलेले सङ्ग्रहालयमा रहेका पूर्वराजा तथा विदेशी पाहुँनाका लागि प्रयोग गरिएका गाडीको सरसफाइ र मर्मत गरी प्रदर्शनीका लागि राख्न निर्देशन दिनुभयो । बतास कम्पनीले निर्माण गरी भत्काएका संरचना हटाएर बगैँचा निर्माण तथा पहिलाकै अवस्थामा संरचना निर्माण गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री आलेले सङ्ग्रहालयको जमिनमा निर्माण गरिएका संरचनाका विषयमा मन्त्रालयले १५ दिन अघि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेकाले सम्बन्धित निकायलाई कारबाही प्रक्रिया अघि बढाउन पहल गरिने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्रालयका सचिव एवं सङ्ग्रहालयका अध्यक्ष महेश्वर न्यौपानेले सङ्ग्रहालयका संरचना र सामग्रीको रेखदेख तथा मर्मत र सरसफाइमा ध्यान दिन त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिनुभयो । सो कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : ४५ बजे