विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले  १ किलो १ सय ५५ ग्राम सुन सहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा  दुबईबाट फर्किएका रौतहटको गौर नगरपालिकाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन्। शेर्पाले सारजहाबाट फर्किदा मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका थिए।

त्यस्तै, साहको साथबाट प्रहरीले सुनको औँठी र सिक्री गरेर ५० ग्राम सुन बरामद गरेको थियो। परियारले पनि ५० ग्रामको बेरुवा औँठी ल्याएका थिए। त्यस्तै, प्रहरीले ४ वटा आइफोन समेत बरामद गरेको छ।

प्रहरीले बरामद सुन र मानिस भन्सार कार्यालयलाई बुझाएको छ। 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ३ : ४३ बजे