आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सुरक्षित बस्ती स्थानान्तरणको पर्खाइमा याङरी र लार्केका पीडित

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका सिन्धुपाल्चोक बरुवाका विस्थापित अझै पाल र टहरामै बस्न बाध्य छन् । चिसो मौसममा कठ्याङ्ग्रिदै दिन रात बिताएका उनीहरु सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् ।

बाढीका कारण विस्थापित पाँचपोखरी थाङपाल– २ बरुवाका बासिन्दा सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् । याङरी खोला तटीय क्षेत्रमा बस्दै आएका उनीहरुको न कतै जग्गा छ नत बस्ने घर नै छ ।

जोखिमयुक्त उक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई छिटृै घर बनाउनु पर्ने आवश्यक भएकोे पीडित हरिबहादुर तामाङ बताउनुहुन्छ ।

पुर्खौली थातथलो छोड्नुपर्ने चिन्तामा रहेका बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट पीडित उनीहरुले अझैसम्म घर बनाएर बस्ने सुरक्षित ठाउँ पाउनसकेका छैनन् ।

जग्गा अभावकै कारण पीडितको सुरक्षित आवास निर्माण प्रक्रियासमेत अघि बढ्न नसकेको अर्का स्थानीयवासी पूर्ण थिङ बताउनुहुन्छ । स्थानीय तहले बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा स्थान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस् काम भएको भने देखिदैन ।

बर्खायाम सुरु हुनु अगावै पीडितलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतिपूर्ण देखिए पनि पूरा गरेरै छोड्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा बताउनुहुन्छ । यसका लागि प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरिरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ३ : २९ बजे