अब बस्ने मन्त्रिपरिषद् बैठकले ४ जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले ४ जेठ २०७९ मै स्थानीय तहको एकै चरणमा निर्वाचन गर्नेगरी अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्ने जानकारी गराएका हुन् । 

सोही छलफलमा प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्न सक्ने नसक्नेबारेमा आयोगका पदाधिकारीसँग जिज्ञासा राखेका थिए । आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गर्न सकिने जवाफ दिएपछि प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट ४ जेठ २०७९ निर्वाचन गर्ने मिति तोक्ने जानकारी गराएका हुन् । 

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।

यसअघि सोमबार कांग्रेस सभापतिसमेत रहेका  प्रधानमन्त्री देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी गराइसकेका थिए । 

नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन् । 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ४ : २१ बजे