आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतले नेपाललाई दिने अनुदान घटायो

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान घटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार लोकसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०२२/२३ को बजेटमा  नेपाललाई दिने अनुदान घटाइएको देखिएको हो । जस अनुसार भारतले आर्थिक वर्ष २०२२–०२३ मा नेपाललाई १२ अर्ब (भारु ७ अर्ब ५० करोड) रुपैयाँ अनुदान दिने भएको छ । गत वर्ष सन् २०२१–२२ को बजेटमार्फत भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) सहयोग छुट्याएको थियो ।  

भारतीय वित्त मन्त्री निर्मला सीतारमणले सन् २०२२÷२३ का लागि भारतको लागि कुल १२ अर्ब रुपैयाँ बराबरको बजेट  पेश गरेका थिए । 

नेपाललाई भारतले आर्थिक वर्ष २०१९–०२० मा सबैभन्दा बढी १९ अर्ब २० करोड रुपैयाँ अनुदान दिएको थियो । २०२०–२१ मा नेपाललाई १४ अर्ब ४० करोड रुपैयाँ अनुदान प्रदान गरेको थियो ।

भारतले नेपालसहित मरिसस, सिसेल्स, म्यानमार, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, मंगोलिया र विभिन्न अफ्रिकी देशहरू तथा मानवीय र प्राकृतिक प्रकोपका लागि ९६ अर्ब ७० करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ ।

भारत सरकारले विभिन्न देशलाई दिने अनुदानमा भुटान पहिलो नम्बरमा छ भने मरिसस दोस्रो स्थानमा रहेको छ । भुटानलाई नेपालभन्दा दोब्बर २४ अर्ब ९६ करोड रुपैयाँ अनुदान दिनेगरी बजेट विनियोजन गरिएको छ । भुटानले भारतबाट ११ अर्ब २९ करोड रुपैयाँ ऋण समेत प्राप्त गर्नेछ । भारतले हिन्द महासागरको टापु देश मरिससलाई १४ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ३ : ४२ बजे