साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भोजमानको अन्तर्व्यथा (प्रवासी कलम)

भोजमान र म दुवैजना एउटै इन्जिनियरिङ प्राइभेट कम्पनीको अफिसमा दिनभरि काम गर्दथ्यौं, त्यो पनि सामान्य पियनको । दिनभरि काम गरेर बेलुका पढ्न जान्थ्यौं । भोजमान मभन्दा दुई वर्ष जेठो थियो, साढे पाँच फिट अग्लो, गहुँ गोरो, शरीरको बनोट मिलेको हृष्टपुष्ट । लेखाइ, पढाइमा पनि अति रूची भएको, साथीहरूसँग त्यत्तिकै मिलनसार । मधुर वचन, आज्ञाकारी स्वभाव भएकोले उसलाई सबैले मनपराउँदथे । ऊ नेपाल रामेछापको पहाड़ी क्षेत्रमा जन्मेर हुर्केको भोजमा नेवार समुदायको भएपनि नेवारी भाषा बुझ्न र बोल्न अप्ठ्यारो थियो उसलाई । नेपाली, हिन्दी, बङ्गाली र अङ्ग्रेजी भने सहजै बोल्न सक्दथ्यो ।

हामीले काम गर्ने कम्पनीको मुख्य कार्यालय कोलकातामा भएपनि यसको शाखा कार्यालय अमेरिकाको फिलादेलफियामा थियो । केही विज्ञ इन्जिनियरहरू यहाँबाट काम गर्न अमेरिका जान्थे, त्यसैगरी केही विज्ञहरू उहाँबाट कोलकाता आउने गर्दथे । 

एकजना पिटर नामको व्यक्ति फिलादेलफियाबाट इन्जिनियरिङ कामको समीक्षा गर्न प्रायजसो समयमा कोलकाता आउने गर्दथ्यो । सन् १९७६ तिरको कुरा हो, यस पटक पिटरलाई अलि लामो समय कोलकाता बस्नुपर्ने भएकोले कम्पनीले उसलाई कुनै ठूलो होटेलमा नराखेर आफ्नै गेष्ट हाउसमा राख्ने निर्णय गर्‍यो । होटेलमा राख्दा भुक्तान गर्नुपर्ने रकमभन्दा कमै पैसामा त्यसको बदलामा एउटा राम्रो व्यक्ति उसको सेवाको लागि छुट्टै व्यवस्था गरिदिने र आफ्नै गेष्टहाउसमा राख्ने निर्णय थियो ।

यसका लागि उपयुक्त व्यक्ति कम्पनीले छनोट गर्नुपर्ने थियो । छनोट गर्ने अफिसको नजरमा त्यो उपयुक्त व्यक्ति भोजमान प्रधान नै देखिन्थ्यो । एक सातापछि पिटर अमेरिकाबाट कोलकाता आयो । अफिसको मार्केटिङ मेनेजरले योजनानुसारको व्यवस्थापन रहेको जानकारी गर्दै उसको सेवाका लागि भोजमानसँग परिचय गरायो । त्यसै दिनबाट भोजमान गेष्टहाउसको काममा तैनाथ भयो । भोजमान सरल स्वभावको, अनुशासित र आज्ञाकारी, अङ्ग्रेजी भाषा पनि बोल्न र लेख्न सक्ने भएकोले पिटरलाई साह्रै मनपर्‍यो । गेष्ट हाउसमा पिटरलाई आवश्यक पर्ने सबै सेवा सुविधाहरू यो, त्यो, नभनी भोजमानले नै उपलब्ध गराउँथ्यो । उसको सेवाबाट प्रभावित पिटर दुई महिनापछि अमेरिका फर्कियो । 

भोजमान आफ्नो पुरानो कामको शैलीमा फक्र्यो । त्यही काम गर्दै बेलुकाको समय आफ्नो अध्ययनलाई पनि निरन्तरता दिँदै गयो । करिब छ महिनापछि कामको निमित्त पिटरले फेरि कोलकाता आउने जानकारी पठायो । यसपटक ऊ लामो समय नभएर छोटो समयका लागि आउने र चाँडै फर्कने कुराको जानकारी थियो । तर रहनको लागि होटेल हैन, गेष्ट हाउसमा बस्ने, उसको सेवाको लागि भोजमान नै चाहिने माग राख्यो । कम्पनीलाई सजिलै भयो, ठूलो खर्च गर्नु पनि परेन, आफ्नो अफिसको पियनले सबै सेवा गरिहाल्छ । उसलाई कोलकाता एयरपोर्ट ओर्लनेबित्तिकै सोझै गेष्ट हाउस लैजान यातायातको व्यवस्था मिलाइयो । ऊ भोलिपल्ट गेष्ट हाउसबाट अफिस गयो र आफ्नो जिम्मेवारीको कार्य प्रारम्भ गर्‍यो । त्यसै दिन अफिसको चेयरमेनसँग एउटा अनुरोध राख्यो, ‘म भोजमानलाई अमेरिका लिएर जान चहान्छु । तपाईंले उसलाई छोडिदिनु पर्‍यो । उसको पासपोर्टको व्यवस्था मिलाइदिनुहोस्, भिसाको प्रकृया म मिलाइहाल्छु ।’ 

त्यसैअनुसार पासपोर्टको लागि भोजमानलाई गाउँ जानु परेन, अफिसले सबै प्रक्रिया यहीँबाट मिलाइदियो । त्यतिबेला ठूल्ठूला विद्वान, डाक्टर, इन्जिनियरजस्ता व्यक्तिहरूले अमेरिका जानको लागि धेरै माथापच्ची गर्नु पर्दथ्यो । जसले अमेरिका जाने मौका पाउँथे, उनीहरू आफूलाई भाग्यमानी सोच्दथे । हाम्रो जस्तो देश, पहाडको जन्म, गरिबीले सताएर बालखैमा प्रवासिएको एउटा व्यक्ति सजिलैसँग अमेरिका जान पाउँदा जति खुसी भोजमानलाई थियो, त्योभन्दा बढी खुसी त्यस कम्पनीमा काम गर्ने अन्य नेपाली र मलाई थियो । ‘भाग्यले दिएको कुरा कसले छेक्न सक्छ’ भन्दै अत्यन्त खुसीसाथ हामीले भोजमानलाई बिदा गर्‍यौँ । 

ऊ अमेरिका गएपछि दुई–चार वर्ष हाम्रो बीचमा पत्राचार, सूचना र सम्वाद जारी रह्यो । पिटरका छोराछोरी नभएको हुँदा उसले भोजमानलाई धर्मपुत्र बनायो । उसले कलेज भर्ना गरेर पढ्न लगायो र उसले स्नातकसम्मको शिक्षा हासिल गर्‍यो । अमेरिकी नागरिकता प्राप्त ग¥यो । त्यसपछि पिटरले आफ्नो भएको सारा सम्पत्ति, जायजेथा, व्यापार व्यवसाय, सम्पूर्ण भोजमानको नाममा गरिदियो । उसले अमेरिकी केटीसँग विवाह गर्‍यो, एक छोरा र एक छोरी पनि भए भन्ने सम्मको जानकारी प्राप्त भयो । त्यसपछि उसले पनि सम्झन छोड्यो, कताकता हाम्रो सम्वाद पनि टुट्यो । अब उसले चिट्ठी सम्वाद पठाउन पनि छोड्यो हामीले पनि बिर्सियौं ।

यता कोलकातामा म, भोजमान त कहिले बन्न सक्दिन भन्ने सोच राख्दै नोकरी गरेर पढ्दै आफ्नो जीवनयोजनालाई कनीकुथी अगाडि़ बढाउँदै गएँ । त्यही एउटै कम्पनीमा पदोन्नति हुँदै बि।कम।पछि लेखापाल (एकाउन्टेन्ट) सम्म बनेँ । तर हिन्दीको कथन जस्तै, ‘कहाँ राजा भोज, कहाँ गङ्गू तेली’ भनेझै, कहाँको म, कहाँको भोजमान भन्ने सोच्दै आफ्नो सानो आर्जनबाट बालबच्चा पढाउँदै, जीवन गुजारा गर्दै, भाषा, शिक्षा, संस्कृति र समाजमा सम्मिलित हुँदै सन्तोषका साथ चित्त बुजाएर बस्ने काम गरेँ ।

२२ वर्षपछि भोजमानलाई भारत भ्रमण गर्ने इच्छा जागेछ । श्रीमतीलाई भारत घुम्न जाउँ भनेछ, तर उसले रूची देखाइनछ । ऊ एक्लै पहिला त्यहीँ आयो, जुन कम्पनीको माध्यमबाट अमेरिका जान सफल भएको थियो । ऊ यहाँबाट अमेरिका जाँदा ३०/३२ जना नेपाली त्यस कम्पनीमा काम गर्दथे । सबैको नाम लिई लिई भेट्ने काम गरेछ, तर उसले मलाई कतै नदेखेपछि मेरो नाम लिएर सोधेछ म कता छु भनेर । साथीहरूले ‘ऊ त अहिले एक्काउन्टेन्ट हो, भित्र बस्छ’ भनेछन् । ऊ साह्रै खुसी हुँदै ‘ओहो ! मेरो साथी पढेर एक्काउन्टेन्ट भइसकेछ, मैले जसरी पनि उसलाई भेटेर जानुपर्छ’ भन्दै खोज्दै खोज्दै म काम गरिरहेको ठाउँमा आयो । अफिसको पियनले ल्याएर ‘उहाँ तपाईंलाई भेट्न आउनु भएको’ भनेर जिम्मा लगाएर गयो । ऊ ठिङ्ग मेरो टेबलको अगाडि उभिएको थियो, मैले चिन्न सकिनँ, हेरिरहेँ, उसैले भन्यो ‘मलाई चिन्न सकेनौ रु म भोजमान १’ यो सुनेर म आश्चर्यचकित हुँदै आदर सम्मानको साथ बस्न आग्रह गरेँ । यति लामो समयपछिको हाम्रो भेट बाल्यकालको स्मरण जनाउने खालको थियो । उसले मेरो यहाँको घरपरिवारदेखि सबै हाल खबर लियो, अनि मैले उसको । कुरा गर्दागर्दै हामी भावुकजस्ता भयौँ । मेरा समकक्षीहरू हाम्रो मुखतिर पल्याक–पुलुक हेरिरहेका हुन्थे, तर हाम्रो छलफल निरन्तर चलिरहेको थियो । 

‘तिमीजस्तो भाग्यमानी कमै हुन्छन्’ भनेर मैले उसको प्रशंसा गरेँ । त्यसपछि भोजमानले भन्यो ‘हेर भाइ, अर्थहीन अवस्थामा मानिसले पैसोलाई नै सबैभन्दा मूल्यवान वस्तु मान्दो रहेछ, एक समय म पनि त्यही ठीक हो भनेर सोच्दथेँ । हुन पनि अमेरिकामा मानिसले बेकार बस्नु पर्दैन, सबैले केही न केही गरिरहेकै हुन्छन्, व्यस्ततामा रहेर आर्जन गरिरहेका हुन्छन् । त्यहाँ जोसँग पनि सम्पर्क हुन्छ, आफ्नो कामको लागि मात्र हो अरू कुनै मतलब छैन । आज अमेरिकामा मेरो धेरै चलअचल सम्पत्ति छ, त्यहाँ सुखसुविधा अनेकौं छन्, सतहमा हेर्दा मलाई कुनै चिजको अभाव छैन, तर गहिराइमा गएर हेर्दा जुन अभाव मैले महसुस गरिरहेको छु, त्यो मेरो जीवनमा मात्र होइन, आगामी पुस्ताले पनि त्यो पूर्ति गर्न सक्दैन । त्यहाँ न नातागोता छन्, न काका—मामा, न दिदी—बहिनी, दाजुभाइ, आफन्त छन्, न संस्कार छ, न भाषा छ, न संस्कृति र समाज छ, केही पनि छैन । कुनै बेला विरक्त लाग्दा गएर आफ्नो मनको वेदना पोख्ने ठाउँ पनि कतै छैन अनि केको भाग्यमानी, केको अमेरिका ?’

भोजमानका यी सबै कुरा सुनेपछि म आकाशबाट सर्लक्क जमीनमा झरेँ । अनि मैले मनैमन सोचेँ त्यो समय हामीले उसलाई खुसी भएर बिदा गरेको होइनरहेछ, नबुझिकन बिना मूल्यमा एउटा देशको सपुतलाई बिक्री गरिदिएछौँ । आज पनि नजान्दामा हाम्रा देशका लाखौँ नेपाली सन्तानलाई यसैगरी बेचिरहेका छौँ, बेचिइरहेका छौँ या आफैँ बेचिँदैछन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १० : ०३ बजे