आन्तरिक हवाई उडानमा अत्यधिक चाप

विद्युतीकरण योजना अधुरै

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सञ्चालित आयोजना अलपत्र परेको छ । तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन ।

नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन, ३३÷११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।

मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बाासबोट, छिस, भट्टखोला, घोर्सीका ३०० घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझैँ नगाडेको खहरेका रनबहादुर पुनले बताउनुभयो ।

“सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्”, उहाँले भन्नुभयो, “पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबिसी केबुल आएपनि पोल गाड्ने र तार तान्ने काम भएको छैन ।” ५०० घरधुरी रहेको मालिका–२ रुममा पोल गाडेको तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

१५० घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीय ओमकार रोकाले बताउनुभयो । तीनवटै बस्तीका बासिन्दा लघु जलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताउनुभयो । “विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन ।

” नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनियरिङले करिब आठ करोड रुपैयाँमा सन २०१६ मा ठेक्का लिएको सवस्टेशन, मिलनचोकदेखि २२ किलोमिटर प्रशारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सवस्टेशन, प्रशारण लाइन र तीन वटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । २० किलोमिटर दूरीसम्म एउटा सवस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सवस्टेशनदेखि तीन वटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ ।

म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन रातोढुङ्गा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।

रातोढुङ्गा सबस्टेशन आयोजनाका इञ्जिनीयर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताउनुभयो । “ठेकेदारलाई धेरै पटक ताकेता गरेर काममा फर्काएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौँ ।”

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ०६ बजे