भागबन्डा मिलाउन प्रदेश १ मा मन्त्रालय फुटाउने निर्णय

विराटनगर । सत्ता गठबन्धनले भागबन्डा मिलाउन प्रदेश नम्बर १ को मन्त्रालय फुटाउने निर्णय गरेको छ । प्रदेश नम्बर १ का  मुख्यमन्त्री राजेन्द्र कुमार राईले मन्त्रिपरिषद् बैठक मार्फत मन्त्रालय फुटाउने निर्णय गरेका हुन् ।

गठबन्धन जोगाउन र मन्त्री पद दिएर खुसी पार्नका निम्ति ७ वटा मन्त्रालय फुटाउने निर्णय गरिएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर मन्त्रालय सङ्ख्या ७ बाट १२ पुर्‍याउने निर्णय गरिएको छ ।

चुनावसम्म गठबन्धनलाई जोगाउन प्रदेशका मुख्यमन्त्रीहरूलाई जस्तोसुकै निर्णय गर्न र भागबन्डा मिलाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट दिँदै आएका छन् ।

गठबन्धनको आलोचना हुने भएकाले हालसम्म उक्त निर्णयलाई गुपचुप रुपमा राखिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : ५५ बजे