हरेक देशको समुन्नति र विकासमा विज्ञान र प्रविधि शिक्षाको महत्त्वपूर्ण स्थान रहेको हुन्छ । संसारमा विकसित देशहरूको इतिहासलाई अध्ययन गर्ने हो भने कैयौँ वर्ष पुराना विश्वविद्यालयहरू रहेको र तिनकै आड र भरोसामा ती देशहरूले आधुनिक तहको शिक्षा विकास गर्दै विकास निर्माणमा ठुलो उपलब्धि हासिल गरेको पाउँछौँ । विज्ञान प्रविधि शिक्षा कुनै पनि देशको सामाजिक रूपान्तरण र आर्थिक विकासको प्रमुख कडी हो । कुनै पनि राष्ट्रको समुन्नति उक्त देशले अनुसन्धान तथा विज्ञान प्रविधिका क्षेत्रमा का क्षेत्रमा अपनाएको नीति र त्यसको कार्यान्वयनमा भर पर्दछ । त्यसका लागि सरकारको लगानी र प्रतिबद्धता मुख्य कुरा हुन आउँछन् । देशको समग्र विकासका लागि चाहिने वैज्ञानिक शिक्षाको महत्त्व अत्यधिक हुँदाहुँदै पनि नेपालका सन्दर्भमा भने आधुनिक विज्ञान प्रविधिको शिक्षाले प्रवेश पाएको १०० वर्ष मात्र भएको छ ।
नेपालमा विज्ञान शिक्षा तत्कालीन त्रिभुवन चन्द्र क्याम्पसमा वि.सं. १९७६ सालबाट प्रवीणता प्रमाणपत्र तह (आइ एस्सी) पढाइबाट थालिएको थियो भने स्नातक तह (वि एस्सी) को पढाइ वि.सं. २००४ सालबाट सुरु भएको थियो । वि.सं. २०२२ साल मङ्सिरबाट त्रिभुवन विश्वविद्यालयको स्थापनापश्चात् स्नातकोत्तर तहमा विज्ञान विषयको पढाइ सुरु भएको थियो । हाल विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ – नयाँ विकास सँगसँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रवर्तनको विषयमा खुलेर छलफल सुरु भएको छ । यसलाई सुखद सङ्केतका रूपमा लिन सकिन्छ ।
मानव सभ्यताको सुरुवातसँगै जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ । यसअनुसार हाम्रो समाज र सभ्यतामा अनेकौँ प्रकारका प्रविधिहरू प्रयोग भइरहेका छन् । हाम्रा अति नै मौलिक प्रविधिहरूलाई संरक्षण गर्दै समयानुसार स्तरोन्नति गर्दै लैजानु आवश्यक हुन्छ । विज्ञान र प्रविधिलाई कसरी प्रयोग गरिएको रहेछ र पुर्खाहरूले कसरी अगाडि बढाएका रहेछन् भन्ने कुराको खोजीनिती हुनु आवश्यक छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला थुप्रै शिल्पीहरूको ज्ञान र प्रविधिलाई अपनाएको, सम्भ्रान्त राणा परिवारमा जन्मिए पनि विज्ञान र यसको प्रयोगमा रमाउने हतियार विज्ञ गेहेन्द्र समसेर राणालगायत विज्ञान प्रविधिको पक्षमा अनुसन्धान गर्ने, परम्परागत प्रविधिबारे चाख राख्ने र संरक्षण गर्ने सबैले यो वा त्यो रूपमा योगदान पुर्याएका छन् । विज्ञानलाई चेतनाको दियो बाल्ने अति नै आवश्यक ज्ञानका रूपमा सम्झनुपर्दछ । विज्ञान तथा प्रविधि, ठुला पुस्तकहरू विकसित देशमा मात्रै हुन्छन् र रहन सक्दछन् भन्नै भ्रमलाई चिर्दै हामी सबैले यसको महत्त्वलाई बुझ्दै केही न केही योगदान दिन सक्ने बन्नुपर्दछ । देशको समग्र विकासमा विज्ञान–प्रविधिको महत्त्वलाई नीति निर्माणको तहमा पुर्याउन विशेष पहल गर्नुपर्ने र नयाँ तथा युवा प्रतिभाहरूलाई आकर्षित गर्ने खालका विशेष कार्यक्रम ल्याउन नेकपा एमालेजस्तो पार्टीले पार्टीको आन्तरिक कार्यक्रममा समावेश गर्न आवश्यक देखिन्छ ।
विज्ञान र प्रविधिको विकास भन्नाले ठुला ठुला उद्योग, कलकारखाना, भू–उपग्रह, क्षेप्यास्त्र इत्यादि भन्ने झलक्कै बुझिन आउँछ, जुन कुरा अरू देशका लागि उनीहरूको आवश्यकताअनुसार सही हुन सक्छ । तर हाम्रो देशको सन्दर्भमा सही हुन सक्दैन । विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्य सम्पादनमा सहजीकरण गर्न सक्नुपर्दछ । आम जनमानसमा रहेको परम्परागत ज्ञान, सिपलाई परिष्कृत गर्ने खालको हुनुपर्दछ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकियोस् । देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सिपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगहरूको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम ल्याउनुपर्दछ । खासमा भन्ने हो भने नेपाल सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ भन्ने कुराको बोध गर्नु आवश्यक छ । विज्ञान र प्रविधिको उचित प्रयोगले नै कुनै पनि समाज अनि राष्ट्रको उन्नति हुन सक्दछ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढवा दिने र यसको महत्त्वलाई बुझाउन प्रशिक्षण आवश्यक हुन्छ ।
नेपालमा हाल यहाँबाट अधिकतम युवा बिदेसिएका छन् । त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्दछ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्दछ ।
देशको कुनै पनि खास भूगोलको आफ्नै विशिष्ट महत्त्व हुने गर्दछ, विकास भनेको खासमा एकीकृत पहल (Integrated approach) हो । पहाडी भू–भागको आफ्नै खास महत्त्व छ भने तराईको पनि त्यसरी नै विशेष भूमिका र महत्त्व रहेको छ । त्यसैगरी हिमाल, पहाड तराई सबै ठाउँमा भूगोलको विविधतासँगै आबहवामा पनि विविधता छ । यी सबै भूगोलका मानिसहरूमा समग्र विकासका लागि एक अर्को ठाउँको खास महत्त्व छ । एक –अर्को ठाउँको उपयोगिता जनतामाझ खास नीति बनाएर पुर्याउन नसक्नु नै हामी विकासमा पछाडि पर्नुको खास कारण हो । कृषिमा आधारित लघु उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ, जस्तो कि फलफूलमा आधारित उद्योगहरू, पशुपालन तथा दुग्ध व्यवसाय तथा वन पैदावारमा आधारित उद्योगहरू जडीबुटी उत्पादन, मह उत्पादन, चिया, अलैँची, अदुवा र मसला उद्योग इत्यादि कृषि तथा वनमा सामञ्जस्य स्थापना गरेर अगाडि बढाउन सकिन्छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक सङ्घसंस्था, सरकारी निकाय, गैरसरकारी सङ्घसंस्थामा कार्यरत देशबाहिर रहेका जनशक्तिलाई एक आपसमा सहकार्य गर्ने वातावरण मिलाई दिन पनि अति नै जरुरी छ । यो काम नीतिगत रूपमा सरकारी स्तरबाट मात्रै सम्भव हुन सक्दछ । अनि मात्र विज्ञान र प्रविधिबाट हासिल गर्न सकिने उपलब्धिलाई जनसमक्ष पुर्याउन सकिन्छ । आफू जन्मिएको, हुर्किएको देश र त्यहाँको गाउँ तथा समाजलाई विश्वको जुनसुकै कुनामा रहेको व्यक्तिले पनि कहिल्यै बिर्सन सक्दैन, यो मानवीय गुण हो । जीवनमा केही प्राप्त गरिसकेपछि आफ्नो देश र जनतामा लाभ पुर्याउने हेतुले जो कोहीले विभिन्न प्रकारले सहयोग गर्न चाहन्छ र सक्दछ । आफ्नो जीवन सार्थक बन्न पुगेको सबैले चाहने विषय हो र यसको लागि केही योगदान अवश्य पनि गर्ने चाहना हुन्छ, तर त्यसका लागि राज्यले वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्दछ र योगदान दिन चाहने व्यक्तिलाई पहिचान दिने खालको कार्यक्रम ल्याउनुपर्दछ । विदेशमा पढे लेखेर, अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तित्वहरू नेपालमा फर्किएर काम गरिरहेका उदाहरणहरू पनि प्रशस्त छन् । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकताबमोजिमको अनुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । आम जनमानसले विज्ञान प्रविधिको अनुसन्धानमा संलग्न गराउन खोलिएका राज्यका निकायहरू जनताले बुझ्ने गरी काम गरिरहेका छन् कि छैनन् भनेर बुझ्नु आवश्यक छ ।
विज्ञान प्रविधिको विकासले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । सूचना र सञ्चार प्रविधिको विकास तीव्र रूपमा अगाडि बढिरहेको छ र सर्वसाधारणको पहुँचमा पनि पुगिरहेको छ । जसले विश्वलाई नै एक गाउँ बनाउन खोजिरहेको छ । खास गरी नेपालको पछिल्लो समयदेखि सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको छ । थोरै भए पनि दुर्गम गाउँ घरमा पनि प्रविधिको उपयोग लिन सकिन्छ । तर नेपालमा जति फाइदा लिनुपर्ने हो त्यो हुन सकेको छैन किनकि हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमको रूपमा मात्र प्रयोग गरिरहेका छौँ । यसरी प्रविधिलाई मनोरञ्जनको माध्यम मात्र बनाउनुको साटो कृषि, स्वास्थ्यजस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पुर्याई देश विकासमा अघि बढाउन सकिन्थ्यो त्यो हुन सकिरहेको छैन । उदाहरणका रूपमा मुगु जिल्लाको कुनै एउटा ग्रामीण भेगमा कृषि फर्म खोलियो भने त्यहाँ प्राविधिक जानकारी लिन इन्टरनेटको माध्यमबाट विज्ञहरूले त्यहाँका किसानसँग प्रत्यक्ष अन्तरक्रिया गरी उनीहरूको समस्या बुझी समाधान गर्न सकिन्छ । यस्तै खालका कृषि, स्वास्थ्य केन्द्रमा थुप्रै प्रयोगहरू गरी देशलाई विकासको बाटोतिर अगाडि बढाउन सकिन्छ ।
विज्ञान र प्रविधिलाई सदुपयोग गर्न सक्दा देशको औद्योगिक हुन गई धेरैलाई रोजगार दिन सकिन्छ र युवा वर्गको उचित व्यवस्थापन हुन सक्दछ र समृद्ध नेपाल बनाउने दिशामा अघि बढ्न सकिन्छ । विज्ञान र प्रविधिको उचित प्रयोगले नै राष्ट्रको उन्नति हुन सक्दछ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढवा दिने र यसको महत्त्वलाई बुझाउन हाम्रो विद्यालय पाठ्यक्रममा आवश्यक परिमार्जनसहित समावेश गरिनु आवश्यक छ । तदनुरूप उच्च शिक्षामा पनि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागु गर्न सकिने हिसाबले पाठ्यक्रमको बनोट हुनुपर्दछ ।
कुनै पनि देशको विकास हुन त्यहाँका जनताहरू आफैँ जाग्नुपर्ने हुन्छ । जनताहरू आफै जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । उदाहरणका लागि फ्रान्स, बेल्जियम, हल्यान्डजस्ता देशमा त्यहाँको पुनर्निर्माण युगताका जनताहरूमा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो । नेपालमा हाल यहाँबाट अधिकतम युवा बिदेसिएका छन् । त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्दछ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्दछ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधि (Indigenous Technique) लाई बढवा दिनलाई र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरुरी छ ।
देशको आर्थिक, सामाजिक
रूपान्तरणका लागि समृद्ध नेपाल, सुखी नेपालीको नारा सारा नेपालीको राष्ट्रिय सङ्कल्प बन्न पुगेको छ । सामाजिक, राजनीतिक हिसाबले समृद्धिको बाहकका रूपमा राष्ट्रलाई नेतृत्व गरिरहेको एमालेजस्तो राजनीतिक पार्टीले अझ गहिराइका साथ विज्ञान, प्रविधि र नवप्रवर्तनलाई अँगाल्नु आवश्यक छ । यस कार्यका लागि विषय विज्ञहरूका विचार लिई उनीहरूका साथमा बसेर राजनैतिक नेतृत्व प्रदान गर्दा देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सकिन्छ ।
(लेखक त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका सभापति तथा रसायन शास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ९ : ०४ बजे
प्रतिक्रिया