सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोरोना विरुद्धको खोप नलगाएकालाई मनाङमा नो इन्ट्री

लमजुङ । हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएको छ । 

जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।

शनिवारसम्म शून्य सङ्क्रमित रहेको मनाङमा आइतबार मनाङ ङिस्याङ गाउँपालिकाको २४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।

उहाँका अनुसार खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङ प्रवेश गर्न दिइने छैन ।  

मनाङका कर्मचारी र स्थानीयलाई सम्बन्धित स्थानीय तहले खोपको व्यवस्था गर्नेछ । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना सङ्क्रमित भएका छन् । यीमध्ये ४ जनाको मृत्यु भएको थियो ।

मनाङमा कोभिडको सङ्क्रमण बढ्न नदिनका लागि मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ स्थित तालडाडाँमा  एन्टिजेन परीक्षण गर्ने र नासोँ गाउँपालिकाले नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

मनाङ प्रवेश गर्ने नासों गाउँपालिका १ तालडाडाँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरू वितरण गर्ने, सार्वजनिक यातायातमा अनुगमन गरेर अनिवार्य रूपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ आचार्यले बताउनुभयो। 

यस्तै मनाङमा खोप कार्डबिना यात्रुलाई प्रवेश निषेध गरिएको छ । मनाङमा बाह्य जिल्लाबाट सङ्क्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाइ छ । 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : २१ बजे