तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने गाउँपालिका अध्यक्षको घोषणा

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । 

उहाँले स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यस अवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने घोषणा गर्नुभएको हो  । 

वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शङ्का गर्दै उहाँले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

“सरकारले चुनाव घोषणा गरेन भने पनि म संविधान र जनताको अभिमतको कदर गर्दै २०७० साल जेठ ४ गते ठिक १ बजे नै जनताका नाममा शपथ खाएको समयमा आफ्नो पालिकाको अध्यक्ष  पदबाट राजीनामा दिने  घोषणा गर्दछु ”,  उहाँले भन्नुभयो ।

नेपाली काँग्रेस दैलेख जिल्ला कार्यसमितिका सचिव समेत रहनुभएका ओलीले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारको अवधि आगामी ५ जेठमा सकिने बताउनुभयो । 

“हामीले २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि जेठ ४ गते १ बजे शपथ खाएका हौँ”,  उहाँले भन्नुभयो, “अहिलेको सरकारले पनि त्यसै मितिसम्म निर्वाचन गरोस् । यदि सरकारले जेठभित्र निर्वाचन नगरे मैले शपथ खाएको मितिअनुसार नै पदबाट राजीनामा दिन्छु ।” न्युज कारखाना

 

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १२ : १८ बजे