किसान महासङ्घद्वारा तोकिएको समयमा स्थानीय तहको निर्वाचन गर्न सरकारसँग माग

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले तोकिएको समयमा स्थानीय तहको निर्वाचन गर्न सरकारसँग माग गरेको छ । 

महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि समाप्त हुँदै गरेको अवस्थामा संविधानले स्थानीय सरकारमा जनप्रतिनिधि विहीन हुने अवस्थाको परिकल्पना नगरेको स्मरण गराउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि तत्काल तोकिएको समयमा निर्वाचन गराउन माग गरेको हो । 

महासङ्घले संविधानमा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि नै निर्वाचन हुने व्यवस्था गरेको तर, परमादेशबाट गठित देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकार संविधान विपरीत स्थानीय तहको निर्वाचन तोकिएको मितिमा घोषणा नगरेर प्रतिगमनको बाटोमा अग्रसर भइरहेको जनाएको छ । 

लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत नै हो भन्दै महासङ्घले संविधानको कार्यान्वयन गर्दै तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकारसँग माग गरेको छ । 

“स्थानीय तहको निर्वाचनको मिति अभिलम्ब घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन र वर्षा, बाढी र डुबान पीडित किसानलाई राहत, क्षतिपूर्ति अभिलम्ब वितरण गरी महासङ्घले अगाडि सारेका अन्य मागहरूसमेत पूरा गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।” महासङ्घका अध्यक्ष डा. प्रेम दंगालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अखिल नेपाल किसान महासङ्घद्वारा जारी प्रेस विज्ञप्ति :

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : १४ बजे