एमालेद्वारा स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्ने गरी मिति घोषणा गर्न सरकारसँग माग

​​​​​​​काठमाडौँ । नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्ने गरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ ।

सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने बताएको हो ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिवार बसेको बैठकले नेपालको संविधानले स्थानीय तह, प्रदेश र सङ्घीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेको उल्लेख गर्दै समयमै निर्वाचन हुनुपर्ने ठहर गरेको हो । 

“संविधानको धारा २१५ र २१६ ले गाउँ र नगर पालिकाको अध्यक्ष र प्रमुख, उपाध्यक्ष र उपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ” संयन्त्रका संयोजक भानुभक्त ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले'स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर' भन्ने मूल नाराका साथ सबै जनसङ्गठनले आ–आफ्नो तवरले आन्दोलन अगाडी बढाउने निर्णय बैठकले गरेको छ ।

 

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : १८ बजे