प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच निर्वाचनबारे छलफल 

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच आज भेटवार्ता भएको हो।

शीर्ष तीन नेताबीच राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको  हो । 

प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराउनुभएको बताइएको छ  । 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच बिहीबार भएको भेटका क्रममा बुधवार सम्पन्न राष्ट्रियसभाको निर्वाचन, कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेका प्रयास, स्थानीय निर्वाचन तथा अन्य समसामयिक विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले समयमै निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सल्लाह दिनुभएको थियो।  प्रधानमन्त्रीले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने राष्ट्रपतिसमक्ष जानकारी गराउनुभएको थियो  । 

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्। 

एमालेसहित काङ्ग्रेसमै पनि स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने आवाज प्रबल बन्दै गएको छ  भने  माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी वैशाखमा स्थानीय निर्वाचन गर्न नहुने पक्षमा रहँदै आएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ११ : ५२ बजे