यस्तो छ आजको विनिमय दर

वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या

लमजुङ । डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको छ । 

दरबन्दी अनुसार कर्मचारीको नहुँदा कार्यालयले सम्पादन गर्ने दैनिक काम प्रभावित बनेको हो  । कार्यालयमा ४५ जनाको दरबन्दी रहे पनि २३ जना कर्मचारी मात्र कार्यरत छन् । डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीका अनुसार वन रक्षकको सबैभन्दा बढी अभाव छ ।

२७ जना वन रक्षकको दरबन्दी रहे पनि १७ जनाको पद रिक्त छ । ३ सहायक वन अधिकृत, एक खरिददार र एक फरेष्टरसहित २२ जना कर्मचारीको पद रिक्त रहको सुवेदीले बताउनुभयो । 

डिभिजन वन कार्यालय मातहतका जिल्लाका सब डिभिजन कार्यालयले कर्मचारी अभावका कारण काम गर्न निकै समस्या भएको हो ।

एक सहायक वन अधिकृतले तीन वटा सम्म पालिका तथा दुई सब डिभिजन कार्यालय हेर्नुपर्ने बाध्यता रहेकाले दैनिक कार्यसम्पादनमा निकै समस्या भएको सुवेदीको भनाइ छ । 

आठ वटा स्थानीय तह रहेको लमजुङमा प्रत्येक पालिकामा एक सब डिभिजन कार्यालय हुनुपर्नेमा दुई पालिका हेर्ने गरी एक सब डिभिजन कार्यालय मात्र छ । ती कार्यालयमा पनि दरबन्दी अनुसार कर्मचारी नहुँदा अन्य कर्मचारीलाई मार पर्ने गरेको छ ।

लमजुङमा कुल भू–भागमध्ये ६७ हजार  ७ सय ३४ हेक्टर क्षेत्रफलमा वन क्षेत्रले ओगटेको छ । कुल वन क्षेत्रको करिब २८ प्रतिशत अर्थात् १८ हजार ८ सय ५० हेक्टर वन क्षेत्र एक्यापको क्षेत्रभित्र पर्ने कार्यालयका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । 

कार्यालयका अनुसार जिल्लामा १ धार्मिक वनसहित ३ सय ४१ सामुदायिक वन उपभोक्ता समूह र १ सय ७३ कवुलिययती वन समूह रहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ३९ बजे