दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

 अमेरिकाद्वारा युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार

काठमाडौँ । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरिदिएको छ।

रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि हमला गर्न सक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाई आएको हो।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गर्नुभएको हो। उहाँले वासिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने बताउनुभयो।

बिबिसीमा जनाइएअनुसार एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि “गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने” प्रस्ताव राख्नुभएको छ र रुसले त्यसैलाई रोज्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

एक जना रुसी मन्त्रीले चाहिँ नेटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने बताउनुभएको छ ।

यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको बिस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो। त्यसमध्ये युक्रेन र अरूलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न नेटोसँग माग गरिएको थियो।

हालैका साताहरूमा रुसले युक्रेनको सीमा क्षेत्रमा हातहतियारसहित ठुलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ। त्यसलाई पश्चिमा देशहरूले रुसले युक्रेनमाथि गर्न सक्ने सम्भावित हमलाका रूपमा अर्थ्याएका छन्। तर रुसले त्यसलाई अस्वीकार गर्दै आएको छ।

ब्लिङ्कनले अमेरिकी प्रतिक्रियाले युक्रेनको सार्वभौमसत्ता र नेटोजस्ता सुरक्षा गठबन्धनहरूको हिस्सा बन्ने उसको अधिकारसहित अमेरिकाका मूलभूत सिद्धान्तलाई स्पष्ट पारेको बताउनुभयो। “कूटनीतिको कुरा गर्दा हाम्रो उद्देश्यको गम्भीरतामा कुनै शङ्का हुनु हुँदैन र हामी युक्रेनको प्रतिरक्षालाई बलियो बनाउन तथा थप रुसी आक्रामकताका लागि संयुक्त प्रतिउत्तर तयार गर्न समान ध्यान र बलका साथ काम गरिरहेका छौँ।” उहाँले भन्नुभयो । 

उहाँले युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारबीच कुनै मत भिन्नता नभएको पनि बताउनुभयो। ब्लिङ्कनले जारी गरेको भनिएको सूची हालसम्म सार्वजनिक रूपमा उपलब्ध भने गराइएको छैन।

यसैबीच रुस, युक्रेन, फ्रान्स र जर्मनीका कूटनीतिज्ञहरूले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा लामो समयदेखि जारी युद्ध विराम सम्झौता प्रतिको प्रतिबद्धतालाई पुनः दोहोर्‍याएका छन्।

उक्त क्षेत्रलाई आठ वर्षअघि रुस समर्थित विद्रोहीहरूले नियन्त्रण लिएका थिए।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : १८ बजे