राष्ट्रियसभा सदस्य निर्वाचन : रिक्त १९ पदका लागि मतदान सुरु 

काठमाडौँ ।  राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि मतदान सुरु भएको छ  । 

देशका सातै प्रदेशमा कायम रहेका आठ मतदान स्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

मतदानका लागि प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला  विराटनगर, मधेस प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदान स्थल तोकिएको छ ।

यस्तै, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदान स्थल तोकिएको छ ।

आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र  नेपाली काँग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा,  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मत भार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मत भार १८ हुनेछ । 

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनुहुनेछ । 

 

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ५२ बजे