म्याद गुज्रेका खाद्यवस्तु शुक्रबारे बजारमा छ्यापछ्याप्ती 

तेह्रथुम  । तेह्रथुम जिल्लाको छथर शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको हो । 

मंगलबार गरिएको अनुगमनमा तेत्तीस हजार ४ सय ७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरी जलाइएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । 

बजार क्षेत्रमा रहेका किसान, होटेल, मासु पसल तथा औषधी पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा दर्ता नभएका पसल तथा व्यवसायलाई दर्ता गरी सञ्चालन गर्न समेत सुझाइएको थियो । 

इजाजत भएकालाई समयमा नवीकरण गर्न र इजाजत नभएका व्यवसायलाई तत्काल इजाजत लिएर मात्र सञ्चालन गर्न आग्रह गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय तेह्रथुम,घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुम,जिल्ला स्वास्थ्य कार्यालय, कोष तथा नियन्त्रण कार्यालय र शुक्रवारे प्रहरीचौकीको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ४६ बजे