‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सत्तारूढ गठबन्धन: चुनावको त्रास, लोकतन्त्रको उपहास

वर्तमान सत्तारूढ गठबन्धन संविधान र कानुनले तोकेको मितिमा स्थानीय तहको निर्वाचन पर सारेर ती तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागेको छ । आगामी वैशाखमा चुनाव गराउँदा एमालेले जित्ने आन्तरिक रिपोर्ट पाएको गठबन्धन संविधानलाई भत्काएरै भए पनि चुनाव सार्ने तानाबानामा लागेको छ ।

नेकपाबाट छुट्टिएपछि आफ्नो पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चलाउन थालेका पुष्पकमल दाहाल 'प्रचण्ड' के पी ओली नेतृत्वको कम्युनिष्ट सरकार ढाल्ने वेलामा खुब लोकतन्त्र र अग्रगमनको डिङ हाँक्थे । संविधान र कानुन बचाउन देउवाको नेतृत्वको गठबन्धन सरकार बनाउनु परेको तर्क गर्थे । तर जब संविधानअनुसार स्थानीय तहको निर्वाचन नजिकियो, उनको हंसले ठाउँ छोड्यो । कथंकदाचित् माओवादी केन्द्रले एक्लै चुनाव लड्नु पर्‍यो भने सबैतिर पत्ता साफ हुने देखेपछि  उनी तिलमिलाए । सकेसम्म नेपाली काङ्‌ग्रेसको वैशाकीमा चुनावमा जाने र त्यो वातावरण नमिल्दासम्म संविधान र कानुन मिचेरै भए पनि चुनाव सार्दै जाने, स्थानीय तहमा शून्यता सिर्जना गरेर भद्रगोल बनाउन उद्धत छन्  माओवादी सुप्रिमो प्रचण्ड ।

'भद्रगोलमा गोल गर्ने' घोषित नीति बोक्ने प्रचण्डले संविधानमा र कानुनमा कहीँ प्रावधान नभएको 'तीनैतहको निर्वाचन एकै पटक गर्ने' निर्णय आफ्नो पार्टीमा गराएका छन् । तीनै तहको निर्वाचन एकै पटक गर्न संविधान संशोधन गर्नु पर्ने र सोको लागि सत्तारूढ दलसँग दुई तिहाइ मत संसद्मा हुनुपर्ने हुन्छ । गठबन्धनसँग झिनो बहुमत मात्र भएकोले संविधान त के निर्वाचनसम्बन्धी कानुन पनि संशोधन हुनसक्ने अवस्था छैन ।

संविधानले स्थानीय तहलाई एक दिन पनि खाली रहने परिकल्पना गरेको छैन । कानुनले सो अवस्थालाई अझ सुनिश्चित गर्न स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु दुई महिना अगावै स्थानीय निर्वाचन सम्पन्न गर्ने प्रबन्ध गरेको छ । संविधान र कानुनलाई आफ्नो खल्तीको कागज ठान्ने प्रचण्ड भने स्थानीय तहलाई छ सात महिना खाली गराएर आगामी कार्तिक मङ्‌सिरमा तीनै तहको चुनाव गराउने उरन्ठ्याउलो तर्क गर्दै छन् । सशस्त्र बलबाट गाउँबाट सहर घेर्ने माओवादी नीति अझै छोड्न नसकेका उनी आफूलाई नेपालको गणतन्त्र, सङ्‌घीयता, लोकतन्त्र र संविधानको 'पिता' भएको हावादारी प्रचार गराउन समेत चुक्दैनन् । अहिले आफ्नो जमिन एमालेले बढारिदिएकोले आगामी चुनावहरूमा आफ्नो परिवार र आफू निकटका केही मानिसको राजनीतिको रोटी नसेकिने हो कि भन्ने उनको सबभन्दा ठुलो चिन्ता हो ।

सबैलाई थाहा भएकै विषय हो, प्रचण्ड देश, लोकतन्त्र वा संविधान भाँडमा गए जाओस्  आफू र आफ्नो गुटलाई फाइदा होओस् भनेर सोच्ने र सोहीबमोजिम तानाबाना बुन्ने नेता हुन् । आफ्नो हात माथि पर्ने देखे भने दक्षिणपन्थी भासमा पनि जाकिन तयार हुने र देशी विदेशी प्रतिक्रियावादी शक्तिसँग हात मिलाउन पनि पछि नपर्ने उनको चरित्र विगतमा पटक-पटक उदाङ्‌ग भएको छ । तर जसो गर्दा पनि सफलता हात नलागेकोमा भने उनी विक्षुब्ध छन् । यही कारण हो, कार्तिक मङ्‌सिरमा तीनै तहको चुनाव भयो भने कुनै न कुनै तहमा आफ्नो स्पेस सुरक्षित बनाउन उनले यो तहको मरिहत्ते गरिरहेका छन् ।

एमाले चोइट्याएर प्रचण्डकै पिछलग्गु हुन पुगेका माधव नेपालको सङ्‌कट प्रचण्डको भन्दा चर्को छ । एमाले ध्वस्त बनाएर आफ्नो गुट ठुलो बनाउने सपना बोकेका माधव नेपाल आफ्नो गुट बलियो बन्न नसकेको  र एमाले झन् शक्तिशाली बन्दै गएको देखेर हैरान छन् । एमालेको चुनाव चिन्हबाट विगतको निर्वाचन जितेका केही मानिस बोकेर एमालेबाट बाहिरिएका नेपाल अब आउने कुनै चुनावमा कहींकतै चुनाव नजित्ने मात्र होइन, राष्ट्रव्यापी जमानत जफत हुने भयले उनी आक्रान्त छन् । त्यही कारण अलिअलि निर्वाचन, संविधान र लोकतन्त्रको पक्षमा रहेको नेपाली काङ्‌ग्रेस र यसका सभापति एवं प्रधानमन्त्रीलाई भड्काएर संविधान तः हुनुपर्ने स्थानीय तहको निर्वाचन पर सारेर उत्पन्न हुने अस्थिरतामा खेल्न चाहन्छन् । माओवादी सुप्रिमो प्रचण्डसँगको मिलीभगतमा स्थानीय तहको चुनाव भाँड्ने षडयन्त्रमा तल्लीन छन् ।

जति षडयन्त्र र तानाबाना बुने पनि माधव र प्रचण्ड चुनावबाट भाग्न सक्दैनन् । प्रचण्ड माधवले जति घुमाउन खोजे पनि नेपाली काङ्ग्रेस चुनावबाट भाग्न सक्दैन । आफूलाई लोकतन्त्रको मसिहा ठान्ने पार्टीले लोकतन्त्रको उपहास गर्न यसरी उद्धत हुनु नपर्ने हो । आफ्नो निहित स्वार्थका लागि लोकतन्त्र, संविधानको खिलाफमा प्रचण्डको लहैलहैमा नेपाली काङ्‌ग्रेस नफस्नु पर्ने हो ।

तर विडम्बना, नेपाली काङ्‌ग्रेसको  एक मात्र ध्याउन्न कम्युनिष्टहरूलाई मिल्न नदिनु र प्रचण्ड र माधवजस्ता 'कम्युनिष्ट' नेतालाई शिखण्डी बनाएर एमालेसँग चुनाव लड्नु हो । आगामी निर्वाचनहरूमा एक्लै लड्ने उद्घोष गरे पनि नेपाली काङ्‌ग्रेस एक्लै एमालेसँग चुनावी प्रतिस्पर्धामा जान डराएको र उसले प्रचण्ड र माधव नेपालको वैशाखी खोजिरहेको समेत यो हर्कतले प्रष्ट पारेको छ ।

 विगतका अधिकांश चुनावजस्तै आगामी स्थानीय, प्रदेश वा संसदीय चुनावमा एमाले र नेपाली कांग्रेसबीच नै महाभारत हुनेछ । र, प्रचण्ड र माधवको भूमिका र हैसियत केवल शिखण्डीको जस्तो मात्र हुनेछ ।

 

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १ : २४ बजे