नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन गरी शक्तिशाली अध्यक्ष र प्रधानमन्त्री बन्ने ध्याउन्नमा रहेको तत्कालीन नेकपाका दोस्रो अध्यक्ष (हाल माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाललाई यत्तिखेर भएका (सानो घेराका) कार्यकर्ता पनि बचाउन सकस हुँदै गइरहेको छ ।
सर्वाेच्च अदालतले नेकपाको एकतालाई मान्यता नै नदिई पूर्ववत अवस्थामा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि शक्तिशाली कम्युनिष्ट पार्टीको अध्यक्षबाट तेस्रो दलको अध्यक्षमा झरेका प्रचण्डलाई बिस्तारै आफ्नो राजनीति धूलिसाथ भएको पत्तो भइसकेको हुनुपर्छ । त्यसैले त उनी आफ्ना कार्यकर्ता बचाउन कहिले पुरानै अवस्थामा पुगिसकेका एमालेका वरिष्ठ नेता माधव नेपाल आफुहरुकोमा विद्रोह गरेर आउने ठोकुवा गर्छन त कहिले सर्वोच्च अदालतको निर्णय उल्टयाउने प्रचारबाजी गर्छन् ।
हिजो विशाल पार्टी छँदा षडयन्त्रमै बिताएका प्रचण्डलाई खुम्चिएको पार्टी बचाउन पनि अब त्यस्तै मिठा हल्ला छर्नुको विकल्प बाहेक सायद अरू बिकल्प नहोला पनि ।
नेकपा सिङ्गो अवस्थामा रहिरहेकै अवस्थामा राष्ट्रियता र विकासमा डटेर लागेको आफ्नै सरकार गिराउन कम्मर कसेर हलगोरु झैँ नारिएर लागेका प्रचण्ड र अर्का नेता माधव नेपाललाई सर्वोच्चले पुरानै पार्टी ब्युताईदिएपछि सांगठनिकरुपमा मात्र हैन कानुनीरुपमा समेत निक्कै कमजोर रहेको तथ्य स्विकार्न बाध्य पा¥यो ।
आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकार ढाल्ने, सरकार र पार्टीमा हालीमुहाली जमाई विदेशीको इच्छा अनुसार कम्फरटेबल सरकार बनाउने लक्ष्य, सोँज्दै नसोचिएको मुद्दाबाट धूलिसाथ भएपछि प्रचण्ड र माधवहरू यत्तिखेर नराम्रोसँग पछारिएका छन् । सर्वोच्चले संसद् पुनस्र्थापना गरेपछि औधी खुसी भएका प्रचण्ड र माधवहरूले त्यो बेला खाएको लड्डु यत्तिखेर उनीहरूका लागि भारी परेको तथ्य त स्पष्टै छ ।
लोकलाज बचाउन प्रचण्ड र माधवलाई पर्नु सकस पर्दै गइरहेपछि अब उनीहरू पुनः अर्को नयाँ फर्मुला सोचिरहेकै छन् । पार्टीको प्रथम अध्यक्षलाई साधारण सदस्यबाट समेत निकालेर पार्टी, चुनाव चिन्ह र सरकार कब्जा गर्ने फर्मुला अदालतले ऋषिराम कट्टेलको नेकपालाई वैधता दिँदै नेकपालाई नयाँ नाम लिएर आउन निर्देशन दिएसँगै प्रचण्डको नेकपा कब्जागर्ने सपना चकनाचुर बन्यो ।
प्रधानमन्त्री ओलीको राजनीति सकिएको ठान्दै मुख मिठा गरेका प्रचण्ड र माधवहरूलाई अदालतको दोस्रो फैसला मान्न नैतिकरुपमै बाध्य पारिदिएको थियो । नेकपालाई आफ्नो मात्र दाबी गर्ने यो समूहले सर्वोच्चको आदेशपछि बल्ल नेकपाभित्र त ओली पनि रहेछन र त्यहाँ एमाले भन्ने पार्टीको ठुलो अंश रहेछ भन्ने चेत पायो । कहिल्यै छुटिदैनौ जस्तो गरि उमारिएको माधव–प्रचण्डको प्रेम, अदालतको निर्णयले बिछोड हुन बाध्य पारेसँगै प्रचण्ड र माधवहरूले पेरिसडाँडाबाट अमिलो मन पारेर छुटिने निर्णय गरे । छुटिदैगर्दा उनीहरूले उचित मौकामा पार्टीमा एक हुने र प्रधानमन्त्री ओलीलाई कमजोर पार्ने, घेर्ने र एक्लाउने नीतिलाई जारी राख्ने बाचा भने फेरी पनि गरे ।
सर्वोच्चले पुरानै पार्टी ब्युताइदिएपछि कमजोर नै भएपनि प्रचण्डको अध्यक्ष पद त सुरक्षित भयो तर कार्की ब्याङ्गवेटमा गुटको भेला गरेर लगाएको माधव नेपालको अध्यक्षको पगरी भने पानीको फोका जस्तै भयो ।
सर्वोच्चको फैसला भएको यत्तिका दिन वितिसक्दा पनि लाग्छ अझै पनि प्रचण्ड बेलाबेला आफूलाई नेकपाकै अध्यक्ष झैँ सोच्छन्, अझै पनि सुर्य चिन्ह आफ्नै भएको पो ठान्छन होला । उता माधव नेपाल पनि प्रचण्डले लगाइदिएको अध्यक्षको टिको धूलिसाथ हुँदा समेत आफूलाई अध्यक्ष नै ठानिरहेकै होलान र आफूलाई चोरबाटै बाट सही अध्यक्ष बनाइदिने प्रचण्डलाई भुल्न सकिरहेका छैन । त्यसैले त प्रचण्ड बेलाबेलामा माधव नेपाल समूह ओलीको पार्टी कब्जा गरी आफूहरूको पार्टीमा फर्केको प्रचार गर्छन र माधव पनि आफूलाई अध्यक्ष नै ठानेर गुट भेला र समान्तर कमिटीहरू गठन गरिरहेकै छन ।
अर्काको पार्टी एकता गरेर त्यही खेल्ने र सिद्ध्याउने रणनीति फेल भएपनि प्रचण्ड अझै नयाँ नयाँ तानाबाना बुन्न व्यस्तै देखिन्छन् । माओवादी केन्द्र र नेकपा एमाले एकता हुँदा आफ्नो पार्टीको सङ्गठन निक्कै कमजोर रहेको प्रचण्डलाई थाहै थियो । यस्तो अवस्थामा निर्वाचनमा सर्वनाक हार व्योहोर्नु पर्ने पनि प्रचण्डलाई थाहै थियो । काँग्रेससँग मिलेर चुनाव लड्दा समेत छोरीलाई मेयरमा जिताउन मतपत्रै च्यात्नु परेको यथार्य यत्तिखेर प्रचण्डलाई पुनः याद भएकै हुनुपर्छ ।
कमजोर रहेको पार्टी एकता गर्दापनि ओलीले आफूलाई सम्मानजनक ढङ्गबाट अध्यक्ष सहित एकता गरेको गुन बिर्सेर तिनै ओलीलाई पार्र्टी, राजनीति र सरकारबाटै पत्तासाफ गर्ने योजना बनाउनु प्रचण्डको ढाँडमा टेकेर टाउकोमा हान्ने पुरानै फेलर फर्मुलाको पुनरावृत्ति थियो ।
ओझेलमा पर्दे गएको आफ्नो राजनीतिलाई ओलीले जोगाइदिएको भुलेर प्रचण्डले तिनै ओलीको उछितो काटे, राजनीतिक प्रस्तावका नाउँमा हुनै नसक्ने र हुँदै नभएका सङ्गिन आरोपहरू लगाए । एकताको लगभग तीन बर्षको अवधिमा सरकारलाई सहयोग गर्नुको साटो अनावश्यक भागबन्डा मात्रै गरिरहे, आफ्नै नेता कार्यकर्ता खुइल्याउने र परि आए पार्टीको मूल नेतृत्वलाई नै समाप्त पार्ने खेलमै आफूलाई व्यस्त राखे ।
सारा प्रपञ्च र षडयन्त्र उदाङ्गीएर र आफू असफल भएपछि प्रचण्ड यत्तिखेर पुनः पेरिसडाँडामा पुगेका छन् । मुलुककै ठुलो पार्टीको अध्यक्ष रहेका प्रचण्ड एकाएक तेस्रो पार्टीमा मात्र झरेनन् अझ भएको आफ्ना नेता र कार्यकर्तासमेत नफर्कने गरी एमालेमै बसेपछि तीन बर्ष अघिको भन्दा पनि झन कमजोर बनेका छन ।
आफ्ना नेता कार्यकर्ता खुलेर ओलीलाई साथ दिन तयार हुने तर ओलीविरुद्ध आफूले बनाएको ‘ग्याङ’ भने नचाहँदा नचाहँदै छुटिनु परेपछि प्रचण्ड यत्तिखेर अत्तालिएका छन् । स्वयं प्रचण्डले पनि संसद् पुनस्र्थापना भएपछि खुब आनन्द मानेको र त्यही अवस्थामा अर्को फैसलाले भने आफू रिल््याक्स गरेर बसिरहेको अवस्थामा टाउकोमै हाने जत्तिकै भयो भनेर त सार्वजनिक रूपमै स्विकार गरिसकेका छन् । यसबाट के बुझिन्छ भने प्रचण्डको योजना फेल भयो र उनी नराम्रोसँग पराजित भए ।
आफ्नै पार्टीको सरकार गिराएर भारतका लागि कम्फरटेबल सरकार बनाउन खोजेको सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्डले यत्तिखेर प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने आँटसमेत गर्न सकिरहेका छैनन् । उनलाई यो अवस्थामा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लगे त्यो पास नहुने र ओली अर्को एक वर्ष ढुक्कसँग शक्तिशाली प्रधानमन्त्री बन्ने भय छ ।
आफ्ना सबै प्रयास र योजना विफल भएपछि प्रचण्ड यत्तिखेर आफुसँग भएका कार्यकर्ता बचाउन नयाँ प्रचारवाजी गरिरहेका छन् । त्यो भनेको माधव नेपाल एमाले कब्जा गरेर आफू कहाँ आउँछन भन्ने नै हो । तर उनले एमाले कब्जा गर्न खटाएको खेतालो नेकपाको बैठकबाट झन कमजोर बनेको र एमालेको स्पिष्टिकरणले झन नाङ्गिएको छ । अब त्यो षडयन्त्रपनि कार्यकर्ताले नपत्याएपछि प्रचण्डले अर्को नयाँ योजना सुनाएका छन् त्यो हो, ‘अब अदालतमा गएर पुनः नेकपालाई व्युँताइन्छ ।’
राजनीतिकरुपमा नाङ्गिएका प्रचण्डलाई कोही कसैले त संझाइदियोस, सर्वोच्च अदालतले एकता बदर गरेको हैन मिल्ने हो भने नयाँ नामसहित निर्वाचन आयोगमा जान भनेको हो । मिल्नुपर्नेलाई नै निल्न खोजेका प्रचण्डको ब्वाँसो प्रवित्ति उदांगिसकेकाले प्रचण्डको नेकपा व्युँताउने कुरा बेमौसमी बाजा र दन्तबजानबाहेक अरु केही हुन सक्दैन् ।
प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार ४ : ५४ बजे
प्रतिक्रिया